इजरायलको हवाई हमलामा गाजामा चार पत्रकारको मृत्यु 

लोकपथ
210
Shares

काठमाडौं । इजरायलको हवाई हमलामा परी गाजामा कार्यरत कतारी मिडिया अल जजिराका चार पत्रकारको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अनस अल सरिफ, उनका तीन सहकर्मीहरू मोहम्मद कुरिकेह, इब्राहिम जाहर र मोहम्मद नौफल छन् । यस्तै उनका एक जना सहयोगी पनि मारिएका छन् ।

अनस अल सरिफ गाजामा इजरायली हमला र मानवीय संकटबारे अल जजिराका लागि लगातार रिपोर्टिङ गरिरहेका पत्रकार हुन् ।

अल सरिफको एक्स अकाउन्टमा पाँच लाखभन्दा बढी फलोअर्स छन् । त्यसमा उनले मृत्यु अघि केही मिनेटअघि गाजा सिटीमा दुई घण्टाभन्दा बढी समयदेखि भीषण बमबारी भइरहेको भनेर पोस्ट गरेका थिए ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार २८ वर्षीय अल सरिफ र उनका साथीहरू आइतबार पूर्वी गजाको साइफा अस्पताल नजिकै टेन्टमा बसिरहेका बेला हवाई हमलामा मारिएका हुन् । आक्रमणमा अन्य थप दुई जनाको पनि मृत्यु भएको रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार, इजरायली सेनाले पनि हवाई आक्रमण अल सरिफ मारिएको पुष्टि गरेको छ । इजरायली सेनाले अल सरिफ हमासको नेता रहेको दाबी गरेको छ ।

उनी इजरायली नागरिक र सैनिकमाथि रकेट आक्रमण गराउने जिम्मेवार रहेको हमासको सेल प्रमुख रहेको भनेर आइडिएफले आरोप लगाएको छ । यसबारे गजामाबाट गोप्य सूचना र कागजातसमेत फेला पारेको दाबी उनीहरूले गरेका छन् ।

तर अल जजिरा र पत्रकार संगठनहरूले यो आरोपको खण्डन गर्दै उनलाई युद्धको रिपोर्टिङ गरेकै कारण हत्या गरेको दाबी गरेका छन् । 

प्रेस स्वतन्त्रताको निगरानी गर्ने समितिका मध्यपूर्व र उत्तर अफ्रिका निर्देशक सारा कुदाहले पत्रकारलाई हमास लडाकुको आरोप लगाइएको बताएकी छन् ।

सन २०२३ को अक्टोबर ७ यता २ सय ३७ जना पत्रकार मारिएको गजाको सञ्चार कार्यालयले जनाएको छ । पत्रकार संरक्षण समितिले भने यो संख्या कम्तीमा १ सय ८६ रहेको भनेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?