अटोमोबाइल तथा मोबिलिटी क्षेत्रमा स्थिर नीति आवश्यक : नाइमा अध्यक्ष वैद्य

लोकपथ
406
Shares

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) की अध्यक्ष ऋतुसिंह वैद्यले अटोमोबाइल तथा मोबिलिटी क्षेत्रले मुलुकको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिँदै आएको बताउँदै यसलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी छन् ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको ‘नाइमा मोबिलिटी एक्स्पो’को उद्घाटन सत्रमा बोल्दै उनले सेवा क्षेत्रमा मात्र करिब ४ दशमलव ७ प्रतिशत रोजगारी सिर्जना गर्ने यो क्षेत्र स्वास्थ्य, पर्यटन र वित्तीय सेवाजस्तै हजारौँ नेपालीलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारमा जोडेको बताइन् ।

उनका अनुसार हरित प्रविधिमा आधारित सवारी साधनको आगमनसँगै चार्जिङ पूर्वाधार, प्रविधिक तालिम तथा नवप्रवर्तनमा आधारित नयाँ अवसरहरू खुलेका छन् । ‘विद्युतीय सवारी साधनसँगै देखिएका अवसरलाई उपयोग गर्दै सीटीईभीटी र शिक्षा मन्त्रालयसँग सहकार्यमा सीप विकासमा लगानी बढाइरहेका छौँ,‘ वैद्यले भनिन्, ‘युवालाई रोजगारयोग्य बनाउन श्रम शक्ति विकास अभियानमा सक्रिय छौँ तर दीर्घकालीन सफलता सुनिश्चित गर्न स्थिर र स्पष्ट नीति अपरिहार्य छ ।’

नाइमाले अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा आवाजका रूपमा गुणस्तरीय सेवा, जनशक्ति विकास र शहर–गाउँसम्म सवारीसाधनको पहुँच विस्तारमा काम गर्दै आएको अध्यक्ष वैद्यले बताइन् ।

२५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा ५० वटा स्टिलहरु रहेका छन् । जसमा ४७ भन्दा भन्दा बढी ब्रान्डको सहभागिता छ । कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले उद्घाटन गरेका छन् । प्रदर्शनीमा १५ दुईपाङ्ग्रे, १५ चारपाङ्ग्रे र ५ व्यावसायिक नयाँ सवारी साधन सार्वजनिक गरिनेछ । एक्स्पोस्थलमा अपांगमैत्री संरचना, सुधारिएको ढल निकास, सुरक्षा र आपतकालीन सेवाको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?