पूर्वराज्यमन्त्री तामाङको कम्पनीबाट सुर्खेतवासी हैरान, कालोसूचीमा राख्न कर्णाली प्रदेश सरकारको सिफारिस

लोकपथ
1.3k
Shares

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रतिनिधिसभा सदस्य एवं पूर्वउर्जाराज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) को कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको छ । 

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास निर्देशनालय सुर्खेतले सोमबार तामाङको निर्माण कम्पनी कान्छाराम कन्स्ट्रक्सन कम्पनी प्रालि मैजुबहाल ७, काठमाडौंलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको हो । 

निर्देशनालयले खरिद/ठेक्का सम्झौता अन्त्य गर्दै वित्तीय फरफारक गर्न कम्पनीलाई पत्राचार गरिसकेको छ । कान्छाराम कन्स्ट्रक्सनले २०७८ भदौ १७ गते सम्झौताबमोजिम प्रदेश राजधानी वीरेन्द्रनगर सहरी सडक स्तरोन्नति प्याकेज शीर्षकको ठेक्का अन्त्य गरेको हो । पटकपटक म्याद थप गर्दासमेत सम्झौताबमोजिम काम नगरेको, स्वघोषित कार्यतालिका अनुसार अपेक्षित प्रगति हासिल नगरेको र पटकपटक चेतावनी दिँदासमेत सम्पर्कविहीन भएको भन्दै निर्देशनालयले ठेक्का तोडेको जनाएको छ ।

निर्देशनालयबाट विभिन्न मितिमा जारी भएका पत्राचार, ताकेता, सूचना तथा निर्णयहरूको बेवास्ता गरेको, ठेक्का व्यवस्थापनसँग सम्बन्धित बैठकमा अनिवार्य उपस्थित हुन पटक–पटक पत्राचार तथा टेलिफोन मार्फत बोलाउँदा समेत आधिकारिक प्रतिनिधिको उपस्थिति नभएका कारण सार्वजनिक खरिद नियमावली, २०६४ (तेह्रौँ संशोधन सहित) को नियम १२० (क) को उपनियम (५) मा उपनियम (१) बमोजिम खरिद सम्झौताको अन्त्य गरिएको निर्देशनालयद्धारा जारी सूचनामा उल्लेख छ । 

निर्देशनालयले ऐनको दफा ५९ को उपदफा (७) र (८) तथा सार्वजनिक खरिद नियमावली, २०६४ को नियम १२८ र ठेक्का सम्झौताको ७२ को प्रावधान बमोजिम ठेक्का अन्त्य गरेको हो । साथै सार्वजनिक खरिद नियमावली, २०६३ को नियम १४१ र ठेक्का सम्झौताको १७ तथा ७४ को प्रावधान बमोजिम कालोसूचीमा राख्न सिफारिस गरेको हो । निर्देशनालयका निमित्त निर्देशक सूर्यबहादुर शाहीले हालसम्म अद्यावधिक भएको कामको नापजाँच निर्माण व्यवसायीको आधिकारिक प्रतिनिधिको उपस्थितिमा बिलसमेत तयार भइसकेको र बाँकी कामको नापजाँच गरी मूल्यांकन गर्न आवश्यक वा अनुरोध भएको खण्डमा सम्भव भएसम्म तालुक मन्त्रालय, निर्देशनालय र निर्माण व्यवसायी वा निजको आधिकारिक प्रतिनिधिको रोहवरमा १५ दिनभित्र फरफारक गर्न सकिने जानकारी दिए । 

प्रदेश सरकारको सिफारिसका आधारमा सार्वजनिक खरिद अनुगमन कार्यालयले अब कान्छाराम कन्स्ट्रक्सन प्रालिलाई कालोसूचीमा राख्नेछ । कांग्रेस रामेछापका जिल्ला सभापतिसमेत रहेका तामाङ कान्छाराम कन्स्ट्रक्सन मुख्य सञ्चालक हुन् । उनी हाल प्रतिनिधिसभा सदस्य छन् भने निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री हुन् । 

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हटाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र उर्जामन्त्री दीपक खड्कासँग मतभेद भएपछि उनलाई बर्खास्त गरिएको थियो । दर्जनौँ ठेक्का लिएर शक्तिको आडमा काम नगरी उल्टै निर्माण कार्य अलपत्र पारेको भन्दै प्रदेशमा उनको आलोचना हुने गरेको थियो ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?