काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा विमल पौडेल सिफारिस भएका छन् ।
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आइतबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा पौडेललाई सिफारिस गरेको हो ।
यस्तै, पौडेलको बढुवासँगै रिक्त हुने रजिस्ट्रारमा मानबहादुर कार्की सिफारिस भएका छन् । मन्त्रिपरिषद्बाट निर्णय भएपछि उनीहरूको नियुक्ति हुनेछ ।
मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबारदेखि अनिवार्य अवकाशमा गएपछि सर्वोच्च अदालतका रजिस्ट्रार पौडेल मुख्य रजिस्ट्रारमा सिफारिस भएका हुन् । उनी डेढ वर्षअघि रजिस्ट्रारमा नियुक्त भएका थिए ।
मुख्य रजिस्ट्रार सिफारिस भएका पौडेल २०५९ साल चैत १८ मा नेपाल न्याय सेवाको राजपत्रांकित तृतीय श्रेणी अर्थात् शाखा अधिकृतमा नियुक्त भएका थिए । त्यसको ठिक ७ वर्षपछि २०६६ जेठ ६ मा पौडेल राजपत्रांकित द्वितीय श्रेणी अर्थात् उपसचिव पदमा बढुवा भएका थिए । उपसचिव बढुवा भएको ५ वर्षपछि २०७१ पुस १५ मा पौडेल सहसचिव बढुवा भएका थिए ।
पौडेलले सर्वोच्चको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन् । उनले सर्वोच्चको योजना तथा अनुसन्धान, प्रशासनसहित महत्वपूर्ण महाशाखाको नेतृत्व गरिसकेका छन् ।
पौडेलले छात्रवृत्तिमा बेलायतबाट स्नातकोत्तर र अमेरिकाको हम्फ्रे छात्रवृत्तिअन्तर्गत युनिभर्सिटी अफ मिनिसोटाबाट थप डिग्री हासिल गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया