वरुण वेभरेजले पायो फेरि पनि ‘अति उत्तम’ रेटिङ

ईक्रा नेपालले दियो ‘ए १ प्लस’ रेटिङ, वित्तीय हैसियत बलियो

लोकपथ
4.3k
Shares

काठमाडौं । नेपालमा ‘पेप्सी’ उत्पादन तथा वितरण गर्ने वरुण वेभरेज नेपाल प्रालिले फेरि पनि अति उत्तम रेटिङ प्राप्त गरेको छ । नेपालमा क्रेडिट रेटिङ गर्ने कम्पनी ईक्रा नेपालले वरुण वेभरेजलाई उच्चतम ए वान प्लस (ए१+) रेटिङ दिएको हो ।

ईक्रा नेपालले आइतबार जारी गरेको रेटिङमा वरुण वेभरेजले उच्चतम रेटिङ प्राप्त गर्दै कम्पनीको वित्तीय अवस्था सुदृढ रहेको, नगद प्रवाहमा पर्याप्तता रहेको र ऋण निर्भरता नगन्य रहेको देखाएको छ । यसले कम्पनीले आम्दानी, खर्च आदिमा सन्तुलन रहेको र उच्चतम नाफा कमाइरहेको देखाएको छ ।

ईक्रा नेपालले दिने ए वान प्लस रेटिङ के हो ?
ईक्रा नेपाल नेपालकै पहिलो क्रेडिट रेटिङ संस्था हो, जसले कम्पनीहरूको वित्तीय क्षमता, ऋण फिर्ता गर्ने क्षमता, नगद प्रवाह तथा सञ्चालन क्षमताको आधारमा मूल्यांकन गरी रिपोर्ट दिने गर्दछ । ईक्रा नेपालले दिने ‘ए १ प्लस’ रेटिङ अल्पकालीन कर्जाको क्षेत्रमा सबैभन्दा उच्चतम रहेको छ । कुनै पनि कम्पनीले ए वान प्लस रेटिङ पाउनु भनेको सो कम्पनीले छोटो अवधिमै आफ्नो वित्तीय दायित्व पूरा गर्ने क्षमता वा हैसियत राख्दछ भन्ने हो ।

वरुण वेभरेज (पेप्सी)लाई यो कसरी दिइयो अति उत्तम रेटिङ ?
ईक्रा नेपालले पेप्सी कम्पनी भनेर चिनिने वरुण वेभरेज नेपाललाई उच्चतम अंक अर्थात् ए वान प्लस रेटिङ दिनुको कारण हो यसको उच्चतम वित्तीय प्रदर्शन । कम्पनीको खर्च र आम्दानी अनुपातमा सन्तुलन मिलेको र खर्च भन्दा बढी आम्दानी देखिएको, कम्पनीको बजार हिस्सा बढेको लगायतका कारणबाट ईक्रा नेपालले वरुण वेभरेजलाई ए वान प्लस रेटिङ दिएको हो ।

वरुण वेभरेजको ऋण–स्वामित्व अनुपात ०.२ गुणा मात्रै रहेको देखिन्छ । यसको अर्थ यदि कम्पनी १ खर्बको छ भने उसले मात्रै २० अर्ब ऋण लिएको भन्ने अर्थ लाग्दछ । अर्थात् कुल पूँजीको २० प्रतिशत मात्रै ऋण छ र ८० प्रतिशत आफ्नै वा शेयरधनीको सम्पत्ति हो भन्ने बुझाउँछ ।

वरुण वेभरेजको नवलपरासीस्थित पेप्सीको फ्याक्ट्री

त्यसै गरी कम्पनीको ब्याज तिर्ने क्षमता पनि ३८ दशमलव २ गुणा बढी रहेको पाइएको छ । अर्थात् उसले तिर्नुपर्ने ऋण भन्दा कम्पनीले कमाएको नाफा ३८ दशमलव २ गुणा बढी रहेको देखिन्छ । यसको अर्थ कम्पनीले यसै वर्ष कमाएको नाफाले अर्को ३८ वर्षसम्म ब्याज तिर्न सम्भव छ । वरुण वेभरेजको गएको मार्च महिनासम्मको तथ्यांक हेर्दा कम्पनीसँग २ अर्ब २० करोड रुपैयाँ बराबरको नगद सञ्चिति रहेको देखिन्छ ।

बढ्यो पेप्सीको बजार, माउण्टेन ड्युको हिस्सा ८० प्रतिशत

गत आर्थिक वर्षमा पेप्सी कम्पनी अर्थात् वरुण वेभरेजको बजार हिस्सा ३९ प्रतिशत मात्रै रहेकामा यस आर्थिक वर्षमा बजार हिस्सा बढेर ४६ प्रतिशत पुगेको देखिएको छ । बजार हिस्सा बढेसँगै कम्पनीको आम्दानीमा समेत वृद्धि भएको पाइएको छ ।
त्यसै गरी कम्पनीले स्वीकृत गराएको अल्पकालीन ऋणमध्ये ५२ प्रतिशत मात्रै प्रयोग गरेको छ । अर्थात् स्वीकृत गरेको ऋणमध्ये ४८ प्रतिशत प्रयोग नगरेको देखिन्छ । जसको अर्थ कम्पनीमा उच्चतम तरलता रहेको भन्ने बुझिन्छ ।

कम्पनीले गर्ने आम्दानीमध्ये ८० देखि ८५ प्रतिशत हिस्सा माउन्टेन ड्युको मात्रै रहेको समेत रिपोर्टमा देखिएको छ । यसको अर्थ नेपालमा माउन्टेन ड्युको लोकप्रियता अत्यधिक रहेको देखिएको छ ।

वरुण वेभरेजको वित्तीय तथ्यांक (नेपाली अंकमा)

आर्थिक वर्ष बिक्री आम्दानी (रु. करोडमा) सञ्चालन नाफा मार्जिन (%) ऋण–स्वामित्व अनुपात ब्याज तिर्ने क्षमता (गुणा)
२०७७/७८ ६५४.२ २६.३% ०.३ गुणा ३२.८ गुणा
२०७८/७९ ८०२.४ २१.२% ०.१ गुणा ३२.७ गुणा
२०७९/८० ७६२.७ २२.२% ०.१ गुणा १५.८ गुणा
२०८०/८१ ७७४.७ २५.५% ०.२ गुणा २८.३ गुणा
२०८१/८२ (८ महिना) ५७८.२ २८.४% ०.२ गुणा ३८.२ गुणा

वरुण वेभरेजका उत्पादनहरु

चिसो पेय पदार्थ र सोडा तथा पानीको व्यापारमा नेपालमा आफ्नो बलियो उपस्थिति देखाएको पेप्सी कम्पनी अर्थात् वरुण वेभरेजको पेप्सी, माउण्टेन ड्यु, स्लाइस जस्ता उत्पादनहरु हिरो प्रोडक्टस् अर्थात् सबैभन्दा बढी रुचाइएका उत्पादनहरु हुन् । त्यसैगरी मिरिण्डा र सेभेन अप कोल्ड ड्रिंक्स, अक्वाफिना पानी, सोडा तथा स्ट्रिङ इनर्जी ड्रिंक्स पनि वरुण वेभरेजका चर्चित उत्पादनहरु हुन् । कम्पनीले सन् १९८५ देखि नै नेपालमा बहुराष्ट्रिय कम्पनीका रुपमा आफ्ना उत्पादन सुरु गरी विक्री वितरण गरिरहेको छ ।

उत्कृष्ट व्यावसायिक प्रदर्शन
वरुण वेभरेज नेपालले पछिल्ला वर्षहरूमा आफ्नो वित्तीय तथा व्यावसायिक प्रदर्शनमा उल्लेख्य सुधार ल्याएको तथ्यांकले देखाएको छ । ईक्रा नेपालबाट प्राप्त ‘ए वान प्लस’ रेटिङले कम्पनीको ऋण फिर्ता क्षमता बलियो रहेको देखाउँछ । कम ऋण, उच्च नगद सञ्चिति र बलियो ब्रान्ड तथा अघिल्लो आर्थिक वर्षमा भन्दा पनि भर्खरै सकिएको आर्थिक वर्षको करिब ९ महिनाको अवधिमा कम्पनीको सञ्चालन नाफामा समेत उल्लेख्य वृद्धि भएको देखिन्छ । पछिल्लो ५ वर्षमा भन्दा पनि यस आर्थिक वर्षमा सञ्चालन मुनाफा वृद्धि भई २८ दशमलव ४ प्रतिशत पुगेको छ, जसले कम्पनी झनै बलियो र सबल बन्दै गएको देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?