नेकपा एमालेसँग एकताको सम्भावना छैन : माधव नेपाल

लोकपथ
224
Shares
फाइल तस्बिर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेसँग पुनः एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपाल राष्ट्रिय एकता अभियान र नेकपा (एकीकृत समाजवादी) बिचको एकता कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो धारणा व्यक्त गरेका हुन् ।

अध्यक्ष नेपालले एमालेसँग एकता हुनेबारेको भ्रममा नपर्न सबैलाई आग्रह गरे । ‘त्यहाँभित्रको अवस्था मैले राम्रोसँग देखेको छु,‘उनले भने, ‘त्यसैले एमालेसँग एकताको अहिले कुनै सम्भावना छैन ।’

उनले कम्युनिष्ट पार्टीहरू बिग्रिएपछि झन् धेरै गन्हाउने अवस्था देखिएको टिप्पणी गर्दै, ‘भन्छन् नि – कम्युनिष्टहरू गन्हाएपछि साह्रै खत्तम हुँदो रहेछ, त्यस्तो नहोस्, ‘ उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले विगतका गल्तीहरूप्रति समीक्षा, आत्मस्वीकार र सुधार गर्नुपर्नेमा जोड दिए । ‘हामी चाहन्छौँ, सबै सुध्रिउन्, सही बाटोमा अघि बढून्, ‘उनले भने, ’कसैप्रति आग्रह वा पूर्वाग्रह राख्नु हुन्न । कमजोरी भए स्वीकार गर्ने आँट गरौं ।’

अध्यक्ष नेपालले नेकपा एमालेले आफ्नो पार्टीलाई सिध्याउने प्रयत्न गरिरहेको आरोप पनि लगाए । यस्तो अवस्थामा नेपाल राष्ट्रिय एकता अभियानसँगको एकता पार्टी सुदृढीकरणका लागि महत्वपूर्ण हुने उल्लेख गरे ।

उनले भने, ‘यद्यपि केहीले अझै एमालेसँगको एकताबारे आशा राख्न सक्छन्, तर म भन्न चाहन्छु – अहिलेको अवस्था हेर्दा त्यो सम्भव देखिन्न ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?