रासायनिक मलको अवैज्ञानिक प्रयोगले कृषि प्रणालीमा दीर्घकालीन असर : मन्त्री अधिकारी

लोकपथ
98
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले रासायनिक मल र विषादीको अवैज्ञानिक प्रयोगले नेपालको कृषि प्रणाली र खाद्य सुरक्षामा गम्भीर दीर्घकालीन असर परेको बताएका छन् ।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले वातावरणीय सन्तुलन र कृषिको दिगोपनाका लागि हरित अर्थतन्त्रले विकल्प प्रस्तुत गरेको धारणा राखे ।

उनले जलवायु परिवर्तन, जैविक स्रोतको ह्रास, रासायनिक मलको अविवेचित प्रयोगजस्ता कारणले कृषि प्रणाली कमजोर हुँदै गएको उल्लेख गर्दै अबको नीति निर्माणमा हरित कृषि, जैविक खेती, वातावरण अनुकूलन प्रवर्द्धन र नवीन कृषि प्रणालीमा प्राथमिकता दिन जरुरी भएको बताए ।

‘हरित अर्थतन्त्रले दीर्घकालीन बाटो देखाएको छ,’मन्त्री अधिकारीले भने, ‘हाम्रो कृषि क्षेत्र जलवायु जोखिमप्रति अति संवेदनशील छ, त्यसैले आगामी नीति, बजेट तथा कार्यक्रमहरूमा हरित दृष्टिकोणलाई मुख्य नारा बनाउनु आवश्यक छ।’

उनले कृषिमा हरित लगानी बढाउन, नविकरणीय ऊर्जा, जल व्यवस्थापन र वातावरणमैत्री प्रविधिको प्रयोगमा सरकार र संसदको साझा सोच आवश्यक भएको उल्लेख गरे । साथै, युवा नेतृत्वको सक्रिय सहभागितामा आधारित साझेदारीमार्फत योजनाहरू कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याए।

मन्त्री अधिकारीले वर्तमान कृषि प्रणाली सुधार गर्दै दीर्घकालीन सुरक्षित र सन्तुलित खाद्य व्यवस्थाको सुनिश्चितताका लागि नीति निर्माताले अब हरित सोचलाई आत्मसात गर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?