रसुवा बाढीपीडितप्रति नाडाको समवेदना, अटोमोबाइल क्षेत्रमा गम्भीर असर

लोकपथ
119
Shares

काठमाडौं । रसुवा जिल्लामा हालै आएको भीषण बाढी र पहिरोबाट सिर्जित भयावह अवस्थाप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले गहिरो समवेदना व्यक्त गरेको छ ।

नाडाले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै बाढी र पहिरोले मानवीय जनजीवनमा पारेको प्रभावप्रति दुःख प्रकट गर्दै, प्रमुख व्यापारिक नाका केरुङ–रसुवागढी हुँदै सञ्चालन हुँदै आएको अटोमोबाइल आयात प्रणालीमा पनि गम्भीर असर परेको जनाएको छ ।

विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘भन्सार परिसरमा निर्माणाधीन सुख्खा बन्दरगाह तथा पार्किङमा रहेका कन्टेनरहरूसमेत बगाएका छन् । यो परिस्थितिले समग्र अटोमोबाइल व्यापारमा प्रत्यक्ष असर गरेको छ ।’

नाडाका अध्यक्ष करण चौधरीले अटोमोबाइल व्यवसायीहरूको साझा संस्था नाडा सधैं आफ्ना सदस्यहरूसँग रहने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, यस कठिन समयमा हिम्मत, धैर्यता र पुनःस्थापनाका प्रयासमा ऐक्यबद्धता जनाउँदै सबैलाई पीडितको सहयोगमा जुट्न अपिल गरेका छन् ।

‘यदि नाडाबाट कुनै सहयोग सम्भव छ भने जानकारी गराइदिनु हुन सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं,’ अध्यक्ष चौधरीले भनेका छन्, ‘संकटको यस घडीमा हामी सबैले सहकार्य, सहानुभूति र करुणाका साथ अगाडि बढ्नुपर्छ ।’

रसुवा क्षेत्रमा बाढी र पहिरोका कारण मुलुकको उत्तर सीमा व्यापारिक गतिविधि प्रभावित भएको छ भने स्थानीय जनजीवनसमेत अस्तव्यस्त बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?