रास्वपाको हस्ताक्षर अभियानबारे सूर्य थापाको टाउको दुखाई

लोकपथ
1.8k
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हस्ताक्षर अभियानप्रति कटाक्ष गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद थापाले रास्वपा सभापति रवि लामिछानेपछि कटाक्ष गर्दै उनले कारागारबाट पठाएको पत्र ‘याचनापत्र’ रहेको टिप्पणी गरे ।

२०८२ साल असार ७ गते भैरहवा कारागारमा पूर्पक्षमा रहेका एक जना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको र याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी रहेको भन्दै रवि र रास्वपाप्रति कटाक्ष गरे ।

सभापति लामिछानेप्रति लक्षित गर्दै उनले सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जन भन्दा बढी मुद्दा चलिरहेको व्यक्तिलाई लिएर प्रतिशोधका नाममा राजनीति भइरहेको भन्ने भाष्य निर्माण गरिएको टिप्पणी गरे ।

त्यस्तै रास्वपाले गरेको हस्ताक्षर अभियान राजनीतिक प्रचार र प्रोपोगाण्डा भएको बताएको समेत आरोप लगाए । अदालतको आदेशलाई हस्ताक्षरले बदल्न नसकिने भन्दै अदालतले हस्ताक्षरको संख्या हेरेर नभइ रिट निवेदनका साथ संलग्न तथ्य, प्रमण, बहस, पैरवी र तथ्यका आधारमा अदालतले निर्णय गर्ने टिप्पणी गरे ।

उनले भने, ‘एउटा नाटकीय हस्ताक्षर अभियान जारी छ । २०८२ साल असार ७ गते नै भैरहवा कारागारमा पूर्पक्षमा रहेका एक जना व्यक्तिको नाममा १५ पृष्ठको अपिल जारी गरिएको छ । त्यसलाई मैले याचनापत्र भनेको छु । त्यो याचनापत्रसहित अहिले हस्ताक्षर अभियान जारी छ । किनभने सर्वोच्च अदालतमा, उच्च अदालतमा र जिल्ला अदालतमा आधा दर्जन भन्दा बढी मुद्दा चलिरहेका छन् । त्यसलाई प्रतिशोध भन्ने की राजनीति, प्रतिशोध भन्दै अहिले हस्ताक्षर भएको छ त्यो खासमा राजनीति हो । राजनीतिक प्रोपोगाण्डा हो, राजनीतिक प्रचार हो र आफ्नो रोटी सेक्ने उपक्रम हो । सर्वोच्च अदालतबाट समेत त्यसबारेमा जुन आदेश भएको छ, त्यो आदेशलाई हस्ताक्षरले बदल्न सक्दैन । अदालतले हस्ताक्षरको संख्या हेरेर होइन, रिट निवेदनका साथ संलग्न तथ्य, प्रमण, बहस, पैरवी र तथ्यका आधारमा अदालतले निर्णय गर्दछ । यो कुरा हेक्का राख्न आग्रह गर्न चाहन्छु ।’

सांसद थापाले जान्नेलाई छान्ने भनेर चुनावबाट सांसद भएकाहरुको उपस्थितिमा अदालतको आदेश बर्खिलाप हुनेगरी क्रियाकलाप भइरहेको भन्दै कटाक्ष गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?