काठमाडौं । नेकपा एमालेका सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि हालको सत्ता गठबन्धन तोड्न प्रयासरत रहेको गम्भीर आरोप लगाएका छन् ।
आइतबार जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै महासेठले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा सत्ता गठबन्धन तोड्न प्रयत्न भइरहेको उल्लेख गर्दै त्यसको नेतृत्व अध्यक्ष दाहालले गरिरहेको दाबी गरे ।
‘राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यो गठबन्धन तोड्न प्रयास भइरहेको छ,’ महासेठले भने, ‘जसको नेतृत्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरिरहनुभएको छ । उहाँलाई स्वतन्त्र सांसद, राष्ट्रिय स्वतन्त्र पार्टी र सत्ता घटकका केही असन्तुष्ट सांसदले सहयोग गरिरहेका छन् ।’
उनले सत्ता गठबन्धनप्रति असन्तुष्टि राख्ने सांसदहरू गठबन्धन बनेको दिनदेखि नै विदेशी शक्तिको आडमा सक्रिय रहेको आरोप पनि लगाए ।
तर महासेठले हालसम्म सरकार प्रतिकूल अवस्थामा नरहेको उल्लेख गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीचको तालमेलका कारण सरकार स्थिर रहेको बताए ।
‘देशमा हालको भन्दा कुनैपनि गठबन्धनको विकल्प छैन,’ महासेठले भने, ‘ओली र देउवाबीचको सहकार्यले नै सरकार अघि बढिरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया