‘कुलिङ पिरियड’बारे गगनको बटमलाइन : ‘आजै छानबिन समिति बनोस्’

लोकपथ
2k
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निजामती विधेयकमा भएको त्रुटीबारे छानबिन गर्न संसदीय छानबिन समितिको माग गरेका छन् ।

महामन्त्री थापाले समितिले पारित गरेर ल्याइसकेको विधेयकमा छलछाम गरेर पारित गरिएको भन्दै आपत्ति जनाए ।

पार्टी कार्यालय सानेपामा निजामती विधेयकका विषयमा पत्रकारले राखेको जिज्ञासामा महामन्त्री थापाले सभामुखले तत्कालै छानबिन समिति बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।

‘सम्माननीय सभामुख हाम्रो अभिभावक हुनुहुन्छ, उहाँले एउटा छानबिन समिति बनाउनुपर्छ । अन्त्यन्त छोटो समय दिएर, स्पष्ट कार्यादेश दिएर र यसमा के भएको हो ? छुट्टयाउने सत्यतथ्य संसदलाई जानकारी गराउने, संसद मार्फत देश र जनतालाई जानकारी गराउने, र जो यसको गलत गर्ने कुरामा वा बदनियत राख्ने कुरामा सहभागि छ त्यसले हदैसम्मको कारबाही भोग्ने अवस्था सुनिश्चित गर्ने गर्नुपर्दछ,’ महामन्त्री थापाले भने ।

त्यस्तै प्रतिनिधि सभाबाट पारित भएको उक्त विधेयकलाई वैधानिक बाटोबाट पुनः सच्याएर अघि बढ्नुपर्नेमा जोड दिए । साथै आफूहरुका लागि समेत सो विषय सिकाइ भएको भन्दै सांसदहरुले पनि त्यसलाई पाठ सिकेर अघि बढ्नुपर्नेमा जोड दिए ।

महामन्त्री थापाले भनेका छन् :

राज्य व्यवस्था तथा सुशासन समितिको अन्तिम बैठकले निजामति विधेयकका विषयमा निर्णयहरु गरेको थियो । त्यो बैठकमा म सहभागि थिएँ, त्यसको अन्तिम वक्ता मै थिएँ । त्यसमा चलनचल्तीको कुलिङ पिरियड २ वर्षको अवधि राख्ने र अवधि राख्दै गर्दा सपाट, किन्तु, परन्तु बाहेक केही नभनिकन राख्ने भन्ने अन्तिम प्रस्ताव नै त्यहाँबाट टुग्याएको हो ।

जुन कुरा समितिमा टुंग्याइन्छ, त्यही कुराको आधारमा भाषा मिलाउने, त्यही अनुरुपले तयार गर्ने सबै काम त्यहाँको सचिवालयको काम हो । त्यही भएर नै सचिवालय बनाइन्छ । राज्य व्यवस्था समितिको बैठकको सन्दर्भमा हामीले जुन कुरा टुंग्यायौँ, टुंग्याएको भन्दा फरक कुरा अहिले प्रतिनिधि सभाबाट पारित भएको विधेयकको अंश बनेर आयो भनेर भनिएको छ ।

यो हामी सबैको लागि प्रश्न हो । यो मानवीय त्रुटी हो या बदनियत हो, सबैभन्दा पहिले यसलाई छुट्टाउन पर्यो । यो त्रुटी, गल्ती कमजोरी हो भने पनि त्यसले दण्ड सजाय त पाउँनै पर्यो । दुधको दुध पानीको पानी थाहा हुनै पर्यो । बदनियत हो भने झन यसको जरासम्म पुगेर त्यसलाई हदैसम्मको कारबाही हुनुपर्यो । यसको निम्ति मैले देखेको भनेको सम्माननीय सभामुख हाम्रो अभिभावक हुनुहुन्छ, उहाँले एउटा छानबिन समिति बनाउनुपर्छ । अन्त्यन्त छोटो समय दिएर, स्पष्ट कार्यादेश दिएर र यसमा के भएको हो ? छुट्टयाउने सत्यतथ्य संसदलाई जानकारी गराउने, संसद मार्फत देश र जनतालाई जानकारी गराउने, र जो यसको गलत गर्ने कुरामा वा बदनियत राख्ने कुरामा सहभागि छ त्यसले हदैसम्मको कारबाही भोग्ने अवस्था सुनिश्चित गर्ने । हाम्रो ड्यूटी भनेको चाँही समितिबाट सर्वसम्मतीले पारित गरिएको कुनै पनि कण्डिसन नराखीकन कुलिङ पिरियड राख्ने भनेर जुन कुरा गरिएको छ, यसलाई सच्याउने कुराको वैधानिक व्यवस्था के छ, नियमभित्र व्यवस्था पक्कै छन्, त्यसलाई सच्याउन लगाउने ।

समितिका सदस्यहरु एक ठाउँमा आएको त छ नै, दलहरुको कुरा के हो भने नसच्याइकन यो विधेयक अघि बढ्न हुँदैन । र सिक्ने कुरा पनि त हो नि भोलिको दिनमा हामीलाई पनि एउटा सिकाइ के हो भने के रह्यो भने संसदबाट पारित हुने कुरालाई अक्षर अक्षर आफैले हेर्नुपर्ने रहेछ । अनुमानको आधारमा गर्न नहुने रहेछ भन्ने एउटा सिकाइको कुरा रहेछ र सिक्ने कुरा भयो । र गलत गर्नेले दण्ड पाउने कुरा रह्यो । त्यसकारण मेरो आफ्नो कुरा त तत्कालै आजै छानबिन समिति बनाएर सभामुखले के भएको हो भन्ने सत्यतथ्य पत्ता लगाउने बाटोतिर लिएर जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?