एसईईको नतिजा आजै प्रकाशन गर्ने तयारी, बोर्ड बैठक बस्दै

लोकपथ
2.9k
Shares

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशनको विषयमा आज राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्ने भएको छ । नतिजा प्रकाशनको तयारीका लागि आज साढे १२ बजे परीक्षा बोर्डको बैठक बस्न लागेको हो । 

स्रोतका अनुसार, आज दुई चरणको बैठक बसेर एसईईको नतिजा सार्वजनिक गरी तयारी भइरहेको छ । यद्यपि, दोस्रो चरणको बैठक भने पहिलो चरणको बैठकमा भर पर्ने छ । 

स्रोतका अनुसार, पहिलो चरणको बैठकमा राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशन गर्नेबारे ब्रिफिङ गर्नेछ । सो कार्यालयले बैठकमा नतिजा प्रकाशनको लागि तयारी पूरा भएको र कुनै पनि त्रुटि नभएको बताएको अवस्थामा पुनः दोस्रो बैठकको आह्वान गरिनेछ । सो बैठकले नतिजा सार्वजनिक गर्ने आदेश दिन्छ । दोस्रो बैठक पछि नतिजा प्रकाशन गरिनेछ ।

परीक्षा नियन्त्रक डा गणेश भट्टराईले नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेको र तथ्यांक रुजु र इन्ट्रीको काम भएर भेरिफाइको काम चलिरहेको बताएका छन् । उनले भने, ‘केही त्रुटि नभए, प्राविधिक समस्या नभए नतिजा आजै प्रकाशन गर्न सकिने सम्भावना छ । तर बोर्ड बैठकको पहिलो बैठकले के भन्छ त्यसैमा भर पर्छ ।’

एसईईको नतिजा प्रकाशन असार ६ गतेभित्र  सार्वजनिक गर्ने कार्यतालिका बनेको थियो । तर शिक्षक आन्दोलनका कारण प्रकाशनमा ढिलाइ हुन पुगेको हो ।

गत २०८१ को चैत ७ देखि चैत १९ गतेसम्म सञ्चालन भएको एसईई परीक्षामा करिब पाँच लाख १० हजार विद्यार्थी सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?