काठमाडौं । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहको अभिव्यक्तिमा नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले कडा आपत्ति जनाउँदै नियमापत्ति उठाएका छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले सरकारले ५ वटा जिल्लालाई मात्रै प्राथमिकतामा राखेर बजेट ल्याएको आरोप लगाएका थिए । साथै, व्यङ्ग्यात्मक शैलीमा उनले ‘५ जिल्लालाई नेपालमा राखेर बाँकी जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
सिंहको यस्तो अभिव्यक्तिपछि एमालेका प्रमुख सचेतक बर्तौलाले तुरुन्तै हस्तक्षेप गर्दै संसद्को रोष्ट्मबाट आपत्तिजनक र देशद्रोही अभिव्यक्ति दिएको भन्दै कडा कारबाहीको माग गरे । उनले उक्त भनाइ राष्ट्रघाती भएको भन्दै संसद्को रेकर्डबाट हटाउन मात्र नभई अन्य कानुनी कारबाही पनि आवश्यक रहेको धारणा राखे ।
यस विषयमा सभामुख देवराज घिमिरेले सांसद सिंहले बोलेका आपत्तिजनक अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।
सो क्रममा सभामुख घिमिरे, सांसद सिंह र एमाले प्रमुख सचेतक बर्तौलाबीच सभामा सवाफजवाफ समेत चलेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया