काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले सरकारले सहसचिव तहका एक कर्मचारी हटाएको विषयलाई लिएर अनावश्यक हल्ला र राजनीतिक आरोप लगाइएको टिप्पणी गरेका छन् ।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद भट्टराईले यस्तो टिप्पणी गरेका हुन् ।
सरकारको मातहत रहने कर्मचारी व्यवस्थापन सरकारको स्वाभाविक अधिकारभित्र पर्ने उनको भनाइ छ । सांसद भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले प्रधानसेनापति र मुख्यसचिव हटाएको स्मरण समेत गराए ।
उनले यसअघिको प्रचण्ड नेतृत्वको सरकारले मुख्यसचिव हटाएको र हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पद खडा गरेको आरोप समेत लगाए । उनले प्रधानसेनापति हटाउने र मुख्यसचिव हटाउनेलाई अहिले सहसचिव हटाउँदा मुटुमै गोली लागेको जस्तो किन भइरहेको छ ? भन्दै प्रश्न गरे ।
उनले भने, ‘केही कर्मचारीलाई सरकारले हटायो । त्यो एउटा सरकारको अविशिष्ट अधिकार पनि हो । कर्मचारी सरकारको मातहत हुन्छ । त्यसमा समिक्षा गर्न सकिन्छ । म कमरेड प्रचण्डलाई भन्न चाहान्छु तपाईले त प्रधानसेनापतिलाई नै हटाउनु भयो । एकपल्ट सीम्झनु त । एकचोटि सम्झिनु त अस्तिकै कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनु भयो । तर एउटा हुँदै नभएको राष्ट्रिय सुरक्षा सल्लाहकार पोस्ट खडा गर्नुभयो । अनि को अर्को मुख्यसचिव ल्याउनुभएको थियो तपाईले ? अनि केपी ओलीको सरकारले एउटा सहसचिवलाई हटाएकोमा यति ठूलो चिन्ता र मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भइराखेको छ ।’
उनले सरकार र कर्मचारीबीच ‘ट्युनिङ’ नमिल्दा गरिएको व्यवस्थापनलाई अस्वाभाविक रुपमा नहेर्न आग्रह गरे ।
त्यस्तै उनले संविधानको उही धारा अन्तर्गत बनेको प्रचण्ड नेतृत्वको सरकार प्राकृतिक हुने र अहिलेको सरकार अप्राकृतिक हुने ? भन्दै प्रश्न गरे ।
‘उहाँलाई म यति मात्र भन्न चाहन्छु कि सिसाको घरभित्र बसेर अरुको घरमा ढुंगा हान्ने काम नहोस्,’ उनले भने, ‘धारा ७६(२) अनुसार बनेको उहाँको सरकार प्राकृतिक हुने र अहिले पनि धारा ७६(२) अनुसार नै बनेको केपी ओली नेतृत्वको सरकार अप्राकृतिक हुने । यो कुन संविधानको ब्याख्या उहाँले गर्नुभयो ?’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया