किसानमाथि बालेनको डण्डा : तरकारी बेच्न नदिन सडक छेकेर नगर प्रहरी

लोकपथ
10.9k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं १६ स्थित माछापोखरीमा बिहानीको समयमा तरकारी तथा फलफूल बेच्न प्रतिबन्ध लगाइएको छ ।

काठमाडौं महानगरपालिकाले माछापोखरी क्षेत्रमा बिहान सडकमा किसानले बेच्दै आइएको तरकारी अब बेच्न नपाइने भएको हो ।

बिहान ४ बजेबाटै त्यहाँ तरकारी किनबेच गर्नेहरुको घुँइचो लाग्ने गरेको थियो । तर सवारीसाधन आवतजावतका लागि असहज भएको भन्दै महानगरले रोक लगाएको हो ।

धेरैजसो किसानहरुले नै बिहान तरकारी ल्याएर बेच्ने गरेका थिए । किसानले आफैँले फलाएको तरकारी फलफूल सिधै उपभोक्तासामु बेच्दा धेरै सहुलियतमा पाइने गरेको थियो ।

तरकारी बेच्नकै लागि नुवाकोटको ओखरपौवा लगायतका स्थानबाट किसानहरु आउने गरेका थिए । तर केही दिनदेखि महानगरले किसानलाई तरकारी बेच्न रोक्नका लागि महानगर प्रहरी परिचालन गर्ने गरेको छ ।

शुक्रबार बिहान किसानहरुलाई रोक्नका लागि ठूलो संख्यामा नगर प्रहरी परिचालन गरिएको थियो । जसको कारण बाइपास हुँदै बालाजु र बसपार्क तर्फ जाने सवारीसाधन समेत त्यहाँ प्रवेश दिइएको थिएन ।

यता नुवाकोटको ओखरपौवा, कागती गाउँ लगायत क्षेत्रका किसानहरुले तरकारी बेच्न नदिएमा आफूहरुले काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बन्चरे डाँडामा लैजान नदिने चेतावनी समेत दिएका छन् । साथै तरकारी बेच्न पाउनुपर्ने मागसहित प्रत्येक दिनजसो माछापोखरी क्षेत्रमा महानगर र महानगरप्रमुख बालेन्द्र शाह (बालेन) विरुद्ध नाराबाजी समेत हुँदै आइरहेको छ ।

त्यसो त सो क्षेत्रमा तरकारी बेच्न नदिइएकोप्रति स्थानीयले समेत विरोध जनाइरहेका छन् । बिहानको समयमा आवश्यक तरकारी तथा फलफूल सहुलियत मूल्यमा पाइने स्थानलाई प्रतिवन्ध लगाइएको भन्दै स्थानीय र उपभोक्ताहरुले समेत असन्तुष्टि जनाइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?