अब हामी विकासका सन्दर्भमा आधुनिक ढंगले अगाडि बढ्नुपर्छ : प्रधानमन्त्री ओली

लोकपथ
70
Shares
फाइल तस्बिर

सुर्खेत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यमान संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीको रक्षा र संविधानको प्रभावकारी कार्यान्वयन गर्दै आवश्यकतानुसार परिमार्जन गर्दै जाने सरकारको सोच रहेको बताएका छन्।

कर्णाली प्रदेशसभाको बैठकमा आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदान र संघर्षको आधारमा निर्मित नेपालको संविधानले सबैलाई समान अधिकारका साथै सबैको प्रतिस्पर्धा र क्षमता प्रदर्शनको अवसर गरेकाले यसको रक्षा, कार्यान्वयन तथा देश र जनताको हितमा आवश्यक संशोधन सरकारको कर्तव्य भएको बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठनपूर्व नेकपा (एमाले) र नेपाली कांग्रेसबीच भएको सात बुँदे सहमतिमा संविधान संशोधनको बुँदा समावेश गरिएको स्मरण गराउँदै संविधान संशोधन रहर वा लहडमा नभई राष्ट्रिय आवश्यकतालाई हेरेर गरिने विषय भएको उल्लेख गरे । 

‘हामीले ल्याएको गणतन्त्रको व्यवस्थामा राष्ट्रिय स्वाभिमानको प्रबन्ध गरिएको छ । जन्मँदै कोही श्रेष्ठ र कोही रैती हुने प्रणाली सदाका लागि अन्त्य गरेका छौँ । यस प्रणालीमा नागरिक सर्वोच्चता सबैभन्दा माथि हुन्छ, ‘प्रधानमन्त्री ओलीले भने, ‘व्यवस्था र अवस्थामा परिवर्तनसँगै अब हामी विकासका सन्दर्भमा आधुनिक ढगले अगाडि बढ्नुपर्छ । अहिलेको सरकारको ध्यान जनतालाई सूचना र प्रविधिको सहायतामा सहज र सरलरुपमा सुविधान उत्पन्न होस् भन्नेमा छ ।’ 

उनले जनतालाई केन्द्रमा राखेर उत्पादन र उत्पादकत्व बढाउने हिसाबले जानुपर्छ भन्दै सातै प्रदेशसँगको संवाद र छलफलका आधारमा आगामी बजेटमा उचित सम्बोधन गरिने उल्लेख गरे। 

उनले दुई ठूला दल र अन्य सहयोगी दलको समर्थनमा संसद्मा लगभग दुई तिहाइको जनमत रहेकाले आफूहरू समझदारीका साथ देशको समृद्धिका लागि काम गर्न तत्पर भएको बताए । उनले आगामी निर्वाचनसम्म यो सहयात्रा नटुट्ने बताए । 

प्रधानमन्त्री ओलीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई पूर्ण रूपमा सहयोग गर्ने सोचका साथ काम गरिरहेको स्पष्ट गर्दै सामाजिक सञ्जालमा असभ्यता प्रदर्शन गरेर नेपाली सभ्यता र संस्कृतिलाई मास्ने प्रवृत्तिले जनताका बिचमा फाटो ल्याउने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?