काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको मेडिकल चेकअप गर्ने मेडिकल व्यवसायीहरुको छाता संगठन नेपाल मेडिकल व्यवसायी संघले सिन्डिकेट नतोडिए आन्दोलनमा जाने चेतावनी दिएको छ ।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै यसअघि विभिन्न समयमा सरकारको ध्यानाकर्षण गराएको तर माग पूरा नभएको भन्दै त्यस्तो चेतावनी दिएको हो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको मेडिकल जाँचका लागि विभिन्न २१२ वटा मेडिकलहरु सूचीकृत रहेका छन् ।
सरकारले तोकेको मापदण्ड अनुसार नै दर्ता भएको र उत्कृष्ट सेवा दिन तप्पर रहँदारहँदै पनि केही व्यक्तिहरुको दबाब र प्रभावमा परेर सिन्डिकेट लगाइएको संघको आरोप छ ।
सरकारको मातहतमा दर्ता भइ सञ्चालनमा रहेकामध्ये ३६ वटालाई मात्रै मलेसिया जाने श्रमिकहरुको मेडिकल चेकअप गर्न पाउने, १९ वटाले गाम्का तथा ५ वटा मात्रै स्वास्थ्य संस्था छनोट गरि स्वास्थ्य परीक्षण हुँदै आएको छ ।
पत्रकार सम्मेलनमा संघका महासचिव कृष्णप्रसाद बजगाईँले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले देशकै धज्जी उडाउँदै सुचीकृत नै नभएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराएको टिप्पणी गरे ।
‘पछिल्लो समय श्रम मन्त्रालयबाट खुलेआम देशकै धज्जी उडाउँदै इजरायल सरकारले इजरायलबाटै जम्मा ५ वटा स्वास्थ्य संस्था (मेडिसिटी, हेम्स, स्टार, मनमोहन अस्पताल, किस्टल डाईग्नोष्टिक सेन्टर) छनौट गरी उठाएको हुनाले श्रम सुचीकृत नै नभएका स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराई रहेका छन्,’ प्रेस नोटमा भनिएको छ, ‘जुन कुनै प्रलोभनमा नपरी मन्त्रालयले कानुन नै मिचेर कसरी गर्न गराउन लगाएको प्रति नेपाल मेडिकल व्यवसायी संघ लगायत आम जनमानसले शंका गरिरहेका छन् ।’
त्यसो संघले सिन्डिकेट अन्त्यका लागि पटकपटक श्रम मन्त्रालयसहित जिम्मेवार निकायलाई झक्कझकाउँदै आइरहेको छ ।
त्यस्तै पत्रकार सम्मेलन गर्दै संघले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितताका लागि विभिन्न सर्तहरु अघि सारेको छ ।
जसमा वैदेशिक रोजगार ऐन २०६४ समयसापेक्ष परिमार्जन गर्नुपर्ने, सबै स्वास्थ्य संस्थालाई समान अधिकार हुनुपर्ने, श्रमिकहरुको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरुमा बायोमेट्रिकको तत्काल व्यवस्था गर्नुपर्ने, सबै स्वास्थ्य संस्थाहरुमा स्वास्थ्य परीक्षण गर्न अनलाइनबाट नाम दर्ता गर्ने व्यवस्था गरिनुपर्ने लगायतका मागहरु अघि सारेको छ ।
त्यस्तै सरकारले आफूहरुको माग पूरा नगरे सम्पूर्ण स्वास्थ्य संस्थाहरु बन्द गराइ सरकारलाई तालाचाबी बुझाएर चरणबद्ध आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया