रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा

लोकपथ
238
Shares

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको मुद्दा न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश अधिकारीको इजलासमा लामिछानेको बयान र त्यसपछि थुनछेक बहस सुरू हुने भएको हो ।

लामिछाने आज आइतबार बिहान साढे ९ बजे नै काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम ठगी मुद्दामा बिहीबार कास्की जिल्ला अदालतबाट धरौटीमा छुटेका लामिछाने शुक्रबार काठमाडौं आएर प्रहरीको सम्पर्कमा थिए । उनीविरुद्ध परेको मुद्दामा प्रहरीले आज लामिछानेलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएको हो ।

यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो । सो आदेशपछि काठमाडौंमा उनी आफै हाजिर हुने गरी छुटेका थिए । स्वर्णलक्ष्मी सहकारीमा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ अपचलन भएको छ । उक्त रकम अपलचनमा सरकारी वकिलको कार्यालय काठमाडौंले रविसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । रवि लामिछाने र जिबी राईको हकमा सहकारीबाट गएको पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रुपैयाँ अपचलनको आरोप छ ।

जसमध्ये प्रहरीको हिरासतमा रहेका कमल लामा र सुनिता नेवालाई अदालतले धरौटीमा छाड्न आदेश दिएको थियो । उता, रुपन्देही प्रहरीले सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन शुक्रबार सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ । इलाका प्रहरी कार्यालय बुटवलले लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि लामिछानेले कात्तिक २७ गते भैरहवास्थित सरकारी वकिलको कार्यालयमा पुगेर बयान दिएका थिए । सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँ भन्दा बढी बचत रकम हिनामिना गरेको दाबी गर्दै गत वैशाख ३ गते लामिछानेसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

काठमाडौंबाट समेत धरौटी वा साधारण तारेखमा छाड्ने आदेश दिइए उनी रुपन्देही जिल्ला अदालतमा हाजिर हुनुपर्नेछ । चितवन र पर्सा प्रहरीले पनि उनीमाथिको अनुसन्धान जारी राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?