काठमाडौं । सभामुख देवराज घिमिरेले संघीयता कार्यान्वयनसँग जोडिएका कानुनहरुको निर्माण गर्न सक्रियतापूर्वक लागिरहेको बताएका छन् । बिहीबार नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सबै क्षेत्र, लिङ्ग, भाषा, धर्म, संस्कृति, अल्पसंख्यक समुदाय आदिलाई समेत सम्बोधन हुने गरी विकास तथा सेवाको ढाँचा निर्माणदेखि कार्यान्वयनमा ध्यान दिँदै जानु नै संघीयताको सफल कार्यान्वयनको सूचक भएको उल्लेख गरे । उनले तीन तहकै सरकारहरुबीचको अधिकार बाँडफाँड र तिनीहरुको कार्यान्वयनमा धेरै मतभेद नरहेको बताए ।
सभामुख घिमिरेले संघीयता कार्यान्वयनको सुरुवाती अवस्थादेखि रहेका केही कमी, कमजोरीहरु अहिले कार्यान्वयनको क्रममा समाधान हुँदै गएको बताए । उनले संघीय शासन प्रणाली भनेकै निरन्तर अभ्यासको क्रममा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने पद्धति भएको बताए ।
सभामुख घिमिरेले विद्यालय शिक्षा, निजामती ऐन, प्रहरी समायोजन जस्ता मुख्य कार्यहरु कार्यान्वयनको चरणमा रहेको उल्लेख गरे । साथै उनले कानुन कार्यान्वयनको लागि तीन तहकै सरकारबीच समन्वय अपरिहार्य रहेको उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया