खानेतेल बोकेको ट्रक सिमलतालबाट त्रिशूलीमा खस्यो, चालक–सहचालक सम्पर्कविहीन

लोकपथ
686
Shares

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डको सिमलतालबाट आज आइतबार बिहान खाने तेल बोकेको एउटा ट्रक त्रिशूली नदीमा खसेको छ ।

ना ६ ख ६२८३ नम्बरकोे ट्रक सिमलतालबाट त्रिशूलीमा खस्दा ट्रकका चालक र सहचालक बेपत्ता छन् । ट्रकमा अन्य व्यक्ति सवार थिए/थिएनन् भन्ने पनि खुल्न सकेको छैन ।

ट्रकमा भेटिएको चलानी अनुसार बाराको सिमराबाट खानेतेल लिएर काठमाडौं जाँदै गरेको ट्रक त्रिशूलीमा खसेको पाइएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । ट्रकको पूरै भाग त्रिशूलीमा नडुबेका कारण कागजात फेला पार्न सकिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालका अनुसार चलानी रहेको मोबाइल नम्बरमा फोन भने लागेको छैन ।

सोही स्थानमा गत असार २८ मा दुईवटा बस त्रिशूलीमा खसेर बेपत्ता भएका थिए । बेपत्ता बसमा सवार झण्डै ३५ जनाको अवस्था अझै अज्ञात छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?