सरकारले तोकेको न्यूनतम् पारिश्रमिक लागू गर्ने सहमति

काठमाडौं– आन्दोलनरत पूर्वी नेपालका चिया मजदूर र चिया उत्पादकबीच सरकारले तोकेको न्यूनतम् पारिश्रमिक लागू गर्ने सहमति भएको छ । चिया क्षेत्रमा आन्दोलनरत ट्रेड युनियनका प्रतिनिधि र नेपाल चिया उत्पादक सङ्घका प्रतिनिधिबीच आज चिया श्रमिकलाई न्यूनतम् पारिश्रमिकलगायत सरकारले तोकेको सेवासुविधा उपलब्ध गराउने सहमति भएको हो ।

    चिया बगान तथा कारखानामा काम गर्ने श्रमिकलाई दैनिक आधारभूत तलब रु २३१, महँगी भत्ता रु १५४ र कारखानामा काम गर्ने, नाइके तथा चौकीदारको अतिरिक्त भत्ता रु ४२ प्रदान गर्ने गरी आन्दोलनरत मजदूर र चिया उत्पादकबीच सहमति भएको अखिल नेपाल ट्रेड युनियन महासङ्घको प्रदेश नं १ इन्चार्ज भूपाल सापकोटाले जानकारी दिए ।

    श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ मा भएका व्यवस्था चिया उत्पादक सङ्घमा आबद्ध सम्पूर्ण चिया बगान तथा कारखानामा कार्यान्वयन गर्ने, भोलिदेखि चिया बगान तथा कारखानामा नियमित रुपमा काम सञ्चालन गर्ने सहमति भएको छ ।

    सहमतिपत्रमा नेपाल चिया उत्पादक सङ्घका तर्फबाट वरिष्ठ सल्लाहकार छत्रबहादुर गिरी, चण्डीराज पराजुली र महासचिव शिवकुमार गुप्ता तथा आन्दोलनरत ट्रेड युनियनका तर्फबाट अखिल नेपाल चिया मजदूर सङ्घका अध्यक्ष सीता सापकोटा र नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका उपाध्यक्ष सहिकुमार राईलगायतले हस्ताक्षर गर्नुभएको छ । दुवै पक्षबीच सहमति भएसँगै मङ्गलबारबाट ४४ दिनदेखि बन्द रहेका चिया बगान तथा कारखाना सञ्चालनमा आउने भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?