छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं । छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ । दाङ, बाँके, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र सिराहामा भएका दुर्घटनामा परी ६ जनाको ज्यान गएको  हो । 

दुर्घटनामध्ये दाङ दंगिशरण गाउँपालिका ६ श्रीगाँउस्थित सडकमा ग १ ज ५६६४ नम्बरको जीपले ठक्कर दिँदा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने देवीलाल पुनको ७ वर्षीय छोरा किरण पुनको प्राथमिक स्वास्थ्य केन्द्र बागरमा उपचारको क्रममा मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

बाँके राप्ती सोनारी गाउँपालिका(१ स्थित सडकमा रा १ क ८५० नम्बरको ट्रकले भे ६ प ९८२३ नम्बरको मोटरसाइकल र साईकलयात्रीलाई ठक्कर दिंदा गम्भीर घाइते भएका साइकलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय गोबिन्द कुमालको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने २४ वर्षीय बिनोद वली, मोटरसाइकलमा सवार २८ वर्षीय हिम बहादुर कुमाल र २५ वर्षीय गणेश कुमालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी कपिलवस्तु, कपिलवस्तु नगरपालिका ९ स्थित सडकमा लु ९ प ४६६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक मायादेवी ७ वतनपुर बस्ने ४० वर्षीय सर्वजित यादव र मोटरसाइकलमा सवार कपिलवस्तु नगरपालिका ६ रमुवापुर बस्ने ३५ वर्षीय सेतु यादवको जिल्ला अस्पतालमा तौलिहवामा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ ।  यसैगरी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मध्यबिन्दु नगरपालिका १० अरुणखोला–दुम्किबास जङ्गलस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा हाल नाम, थर, वतन नखुलेका ३५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । 

यसैगरी सिराहा धनगढीमाई नगरपालिका ११ सोनापुरस्थित सडकमा ना ३ ख ६९७८ नम्बरको बसले ठक्कर दिँदा गम्भीर घाइते भएका बरियारपट्टी गाउँपालिका ४ बस्ने ८० वर्षीय देवीलाल यादवलाई उपचारको लागि स्थानीय अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भऐको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

दुर्घटना भएका सबै स्थानमा तत्काल खटिई गएको स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान समेत गरिरहेको नेपाल प्रहरीके केन्द्रीय समाचार कक्षले जनाएको  छ ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 31 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?