काठमाडौं । सबै प्रमुख राजनीतिक दलहरुबीच वर्तमान व्यवस्थाप्रति भइरहेको प्रहारप्रति सबैले मिलेर प्रतिकार गर्ने विषयमा सहमति भएको छ ।
आज सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा शीर्ष नेताहरुले गणतन्त्रको रक्षाको लागि सबैले प्रतिवद्धता जनाएका हुन् ।
त्यस्तै बैठकमा शान्ति प्रक्रिया र संविधानकाविरुद्ध संगठित रुपमा जनतामा उत्तेजना फैलाउने र त्यसका नेतृत्वकर्तामाथि लान्छाना लगाउने क्रम बढेको निष्कर्ष समेत निकालेको छ ।
यदाकदा पानीको फोकाजस्तो देखापरेको प्रहारविरुद्ध सबै मिलेर प्रतिवाद गर्ने सर्वसम्मतीको निर्णय भएको माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुुसालले जानकारी दिइन् ।
‘यदाकदा पानीको फोकाजस्तो छिटपुट देखापरेका प्रहारविरुद्ध मिलेर प्रतिवाद गर्ने सर्वसम्मत निष्कर्ष निस्कियो ।’ भुसालले बैठकपछि भनिन्, ‘जीवनभरी लडेका परिवर्तन गरेका नेताहरु गणतन्त्रको रक्षा गर्नेमा प्रतिवद्ध छौँ ।’
बैठकमा १२ बुँदे समझदारीमा हस्ताक्षर गर्ने पार्टी नेताहरुबीचमा समसामयीक पछिल्लो राजनीतिमा देखापरेको व्यवधानका बारेमा नेताहरुले आ–आफ्नो तर्क राखेका थिए ।
बैठकमा एमालेले भने वर्तमान सरकारको काम कारबाहीप्रति सन्तुष्ट हुन नसकेको तर्क गरेको थियो ।
बैठकमा प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया