काठमाडौं । काठमाडौं महानगरका प्रतिनिधि र अभियन्ता ईः का प्रतिनिधिबीच राष्ट्रिय सभागृहमा वार्ता जारी रहेको छ ।
सडक व्यवसायीहरुको उचित व्यवस्थापनको मागसहित उभिएर आन्दोलन गरिरहेका ईः सँग महानगरले प्रवक्ता नवीन मानन्धरसहितको टोलीलाई वार्तामा पठाएको थियो । मेयर बालेनले प्रतिनिधि पठाएपछि अभियन्ता ईः ले पनि प्रतिनिधि पठाएका छन् ।
अभियन्ता ईः को तर्फबाट अधिवक्ताद्वय सञ्जय अधिकारी र प्रज्वन्त कार्की रहेका छन् । त्यस्तै विवेशील साझा अभियानका गोविन्द नारायण, सडक व्यवसायीको तर्फबाट सुजन गिरी र सहरी व्यवस्थापन विज्ञ राज महर्जन प्रतिनिधिको रुपमा पठाएको अभियन्ता ईः ले लोकपथलाई जानकारी दिए ।
महानगरबाट बालेनले प्रतिनिधि पठाएपछि आफूले पनि प्रतिनिधि नै पठाएर वार्ता गर्न लागेको बताए । लडाइँ आफ्नो लागि भन्दा पनि आम सर्वसाधारणको पक्षमा भएका कारण आफ्नो आन्दोलन निरन्तर जारी रहने बताए ।
‘खास मेयर बालेनसँग वार्ता गर्ने भनिएकोमा उहाँले प्रतिनिधि पठाउनुभएपछि हाम्रो तर्फबाट पनि प्रतिनिधि पठाएका छौँ ।’ उनले भने, ‘वार्ता सकारात्मक होस् भन्ने हो । मेरो लागि होइन आम सर्वसाधारणको लागि भएकाले उहाँहरुको न्याय नभएमा हामी निरन्तर लागिरहनेछौँ ।’
निर्वाचनअघि फुटपाथ व्यापारीहरुको व्यवस्थापन गर्ने आश्वासन मेयर बालेन र उपमेयर सुनिताले बाँडे पनि निर्वाचनपछि भने सडक व्यापारीहरुलाई सडकबाट उठाएको र त्यसको विकल्प नदिएको भन्दै अभियन्ता ईः ले आन्दोलन थालेका हुन् ।
ईः को आन्दोलनमा सडक व्यवसायी, राजनीतिक दलका नेता कार्यकर्ता तथा आम सर्वसाधारणको समेत समर्थन रहेपछि महानगरले वार्ताका लागि चासो देखाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया