काठमाडौं । काठमाडौंको बसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याइएको छ ।
वर्षा र सहकालका देवता इन्द्रको नाममा गरिने इन्द्रजात्राको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकामा इन्द्रजात्रा पर्व विधिवत रुपमा शुरु भएको छ ।
१० बजेर ३७ मिनेटको शुभसाइतमा हनुमान ढोका (कालभैरव क्षेत्र) बाट इन्द्रजात्राको लिङ्गो ठड्याएर इन्द्रध्वजोत्थान गरिएको हो ।
भाद्र शुक्लपक्ष अर्थात् यँलाथ्व द्वादशीका दिन बसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
यही असोज ११ गते इन्द्रजात्राको मुख्य दिन परेको छ । यस दिन सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइत अनुरुप केन्द्रीय मानन्धर संघको टोलीले भक्तपुरको सूर्यविनायकस्थित चित्तपोलको जंगलबाट काटेर ल्याएको लिङ्गोको फेदमा भैरवको पूजा गरिन्छ ।
इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि शुरु हुने जात्राभरि भक्कु नाच, महाकाली नाच, लाखे नाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।
काठमाडौं महानगरपालिकाले ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा भगिनी सम्बन्ध भएका विभिन्न देशका २० जना विदेशी पाहुनालाई जात्रा हेर्न आमन्त्रण गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया