काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि बैठक बसेको हो ।
नियमित बैठक नहुने, भएका विभागहरुले पूर्णता नपाउने, भातृ तथा सुभेच्छुक संस्थामा हानाथान हुने लगायतका आरोप खेपिरहेको कांग्रेसले लय समात्न थालेको छ ।
कांग्रेसको विधानमा नै हरेक २–२ महिनामा केन्द्रीय समिति बैठक बस्नुपर्ने व्यवस्था रहेको छ । तर लामो समय केन्द्रीय समिति बैठक नै नबस्ने र पार्टीभित्रका एजेण्डाहरु नै ओझेलमा पर्ने गरेका थिए । केही समयदेखि बैठक नियमित बस्न हुन थालेको छ ।
यसअघि गत साउन २ गते बैठक बसेको थियो । त्यसमा विभिन्न एजेण्डाहरु माथि छलफल भएको थियो । तर त्यो बैठकमा भएका निर्णयहरु भने कार्यान्वयन हुन नसकेको महामन्त्री गगन थापाले आजको बैठकमा बताएका छन् ।
भदौ १५ भित्र सबै विभागहरुलाई पूर्णता दिने भन्ने विषयमा निर्णय भए पनि हालसम्म १६ वटा विभागको मात्र संयोजक तोकिएको बताए । त्यसमा संचार लगायतका केही विभागहरुले पूर्णता नै पाइसकेको बताए ।
बैठकमा बोल्दै महामन्त्री थापाले भने, ‘अहिले हाम्रो विधानमा नै व्यवस्था भए अनुसार ७० वटा विभाग बनेका छन् । त्यसमा १६ वटा मात्र विभागको संयोजक तोकिएको छ । बाँकी रहेका अन्य विभागहरुमा भने हामी छिट्टै पूर्णता दिनेछौँ ।’
त्यस्तै महामन्त्री थापाले प्रदेश समितिको विषयमा आवश्यक निर्णयहरु गर्न प्रदेश समितिलाई प्रतिवेदन आगामी ७ गतेभित्र बुझाउन समेत आग्रह गरेका छन् ।
यसअघि साउनमा बसेको बैठकले आगामी मंसिर ११, १२ र १३ गते महासमितिको बैठक बस्ने निर्णय गरिसकेको छ । त्यसअघि नै केन्द्रीय समिति बैठक बसेर महासमिति बैठक गर्ने निर्णय गरेको महामन्त्री थापाले आजको बैठकमा जानकारी दिए ।
महामन्त्री थापाले बैठकका ३ एजेण्डाहरु बैठकमा प्रस्तुत गरेका छन् । बैठक जारी छ । जारी बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राख्नेक्रम जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया