काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीमा कोर टिमको नाममा पैसा माग्ने जो कोही व्यक्ति भए पनि कारबाही गर्ने जनाएको छ ।
पार्टी निष्काशित डा. ढाकाकुमार श्रेष्ठले गलत अभिव्यक्ति दिएको ठहर गर्दै यदी कोही व्यक्तिले गलत मनसायले पार्टीको नाम बेचेर पैसा मागेको भए कारबाही हुने जनाएको हो ।
मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेको अडियो सार्वजनिक भएपछि सांसद रहेका ढाकाकुमारलाई रास्वपाले निष्काशन गरेको थियो । उक्त अडियोमा उनले कोर टिम रहेको बताएका थिए । यद्यपी उक्त कोर टिमका बारेमा भने उनले कहिले पनि खुलाएका थिएनन् ।
केही दिनअघि अन्तर्वार्तामा उनले पार्टी केन्द्रीय सदस्य मोहनजंग थापासहित कोर टिमले पैसा माग्नेगरेको अभिव्यक्ति दिएका थिए । साथै आफूलाई पार्टीले सहयोग नगरेको भनेर कोर टिमबारे पर्दाफास गरिदिने समेत बताएका थिए ।
रास्वपाले सो विषयमा विज्ञप्ति जारी गर्दै भनेको छ, ‘बिना आधार, बिना प्रमाण पार्टीको छविमा आँच पु-याउने कलुषित मनसायले आम जनसमुदायमाझ पार्टीका सम्बन्धमा फैलाइएका सूचनाबाट भ्रममा नपर्न सम्बन्धित सबैलाई अनुरोध गरिन्छ । तथापि राष्ट्रिय स्वतन्त्र पार्टी पारदर्शिता, जवाफदेहिता र भ्रष्ट्राचारप्रति शुन्य सहनशीलताको नीति अनुसरण गर्ने पार्टी भएकाले यस प्रकरणमा अझै पनि पार्टीका कुनै पनि तहको पदाधिकारी वा केन्द्रीय सदस्यले पार्टीको नाम प्रयोग गरी कसैसँग पैसा मागेको ठोस प्रमाण लिएर डा.श्रेष्ठ वा जोकोही आउनुभएको अवस्थामा पार्टीले त्यस्ता सदस्य जोकोही भए पनि प्रमाण पेश भएको ७२ घण्टाभित्र कारवाही गरिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराउँदछौं । साथै पार्टीप्रतिको जनविश्वास, आस्था र भरोसामा चोट पु¥याउने कुत्सित प्रयत्न कसैबाट नहोस् भनी सचेत समेत गराउन चाहन्छौं ।’
त्यस्तै पार्टीको कारबाहीमा परेपछि ढाकाकुमारले फरकफरक अभिव्यक्ति दिएर पार्टीका नेताहरुमाथि आक्षेप लगाइरहेको रास्वपाको ठहर रहेको छ ।
‘सञ्चारमाध्यमहरुमा मेडिकल व्यवसायीसँगको अडियो बाहिरिएपछि डा. श्रेष्ठले कहिले उक्त अडियो आफ्नो नभएको भन्ने, त कहिले त्यो पुसको अडियो अहिले किन सार्वजनिक भयो ? भन्ने, कहिले कोर टिम को खुलासा गर्छु भन्ने, कहिले पार्टीमा कुनै कोर टिम नभएको भन्ने, त कहिले पार्टीका फरकफरक केन्द्रीय समिति सदस्यहरुलाई पोलिरहने जस्ता एकआपसमा परस्पर विरोधी अभिव्यक्तिहरु दिइरहनुभयो ।’ विज्ञप्तिमा भनिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया