सिआइबीले राहुललाई पक्राउ गरिसक्दा पनि कृष्णबहादुर महरा निगरानीमा मात्रै

लोकपथ
203
Shares

काठमाडौं । इलेक्ट्रिक चुरोट (भेप) भित्र लुकाएर ल्याएको सुन प्रकरणमा जोडिएका माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा महरा पक्राउ परेका छन् ।

बुधबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोलीले पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । तर सोही प्रकरणमा मुछिएका पूर्व सभामुख समेत रहेका कृष्णबहादुरलाई भने पक्राउ गरिएको छैन ।

सत्तारुढ दलका नेता भएकै कारण अनुसन्धानको दायरामा समेत नल्याइएको भन्दै सरकारको आलोचना समेत भइरहेको छ । प्रतिपक्षले मात्र नभइ सत्तापक्षबाटै पनि त्यसको आलोचना भइरहेको हो ।

यता राहुललाई पक्राउ गरि थप अनुसन्धान भइरहेको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले लोकपथलाई जानकारी दिए । राहुलसँगको अनुसन्धानपछि घटनासँग जोडिएका अन्य पक्षसँग समेत पुग्न सकिने उनले बताए ।

एकै प्रकृतीको घटनामा चाँही उनका छोरालाई मात्र किन पक्राउ गरिएको, महरामाथि किन कुनै कारबाही नहुने भन्ने लोकपथको प्रश्नमा उनले भने, ‘उहाँ हाम्रो निगरानीमा हुनुहुन्छ । आवश्यक तथ्य प्रमाण भेटेपछि उहाँ पनि कानुनी दायरामा आउनुहुन्छ ।’

२०७९ पुस १० गते चिनियाँ व्यापारीले भेपभित्र लुकाएर ल्याएको सुन विमानस्थल भन्सारले समातेको थियो । तर त्यसलाई छुटाउन महराका बाबुछोराले भूमिका खेलेका थिए ।

सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाटै पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग बाबुछोराले २ सय ५६ पटक फोन सम्पर्क गरेको तथ्य बाहिरिसकेको छ ।

यता केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले स्वास्थ्य अवस्थाको कारण कृष्णबहादुर महरालाई उच्च निगरानीमा राखेर अनुसन्धान भइरहेको लोकपथलाई जानकारी दिए । ‘उहाँको स्वास्थ्य अवस्थाको कारणले पनि हामीले उहाँलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेका छाैँ ।’ उनले भने । उनका अनुसार सो प्रकरणमा पक्राउ परेका महरापुत्र राहुलमाथि संगठित अपराधमा मुद्दा चल्ने बताए ।

केही दिनअघि महरा बाबुछोरा जोडिएको विषयलाई लिएर सरकारी वकिल कार्यालय, सीआईबी र गृह मन्त्रालयका अधिकारीबीच अनौपचारिक छलफल भएको थियो । छलफलमा महरालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने कुरा उठेपछि सीआईबीले पक्राउ पुर्जी लिएर राहुललाई निगरानीमा राखेको थियो ।

लोकपथ डटकमले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीसँग टेलीफोन संवाद गर्दा थप अनुसन्धान भइरहेकाले यस विषायमा धेरै बाेल्जान उचित नहुने बताए ।

त्यस्तै, केन्द्रिय प्रहरी प्रवक्ता कुबेर कडायतले  स्वास्थ्य अवस्थाको कारणले महरालाई भने प्रहरीले नियन्त्रणमा नलिई निगरानीमा मात्रै राखिएकाे बताएका छन्र भने  उक्त भेप प्रकरणमा राहुलमाथि संगठित अपराधमा मुद्दा चल्ने र अन्य व्यक्तीको संलग्नता बारे अनुसन्धान भइरहेको जानकारी दिए ।

केही दिनअघि महरा बाबुछोरा जोडिएको विषयलाई लिएर सरकारी वकिल कार्यालय, सीआईबी र गृह मन्त्रालयका अधिकारीबीच अनौपचारिक छलफल भएको थियो । छलफलमा महरालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने कुरा उठेपछि सीआईबीले पक्राउ पुर्जी लिएर राहुललाई निगरानीमा राखेको थियो ।

राहुल र तस्कर वाङबीच १९५ पटक कुराकानी

काठमाडौं जिल्ला अदालत स्रोतबाट लोकपथलाई प्राप्त सिडिआर रिपोर्टमा सुन ल्याउने समूहका व्यक्ति चिनियाँ नागरिक वाङ र माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराका छोरा राहुल महराबीच १९५ पटक कुराकानी भएको प्रमाण मिसिलसाथ बुझाएको छ । सुन तस्करी भई आएको मितिदेखि विमानस्थल भन्सार कार्यालयले छानबिन सुरु गर्नेसम्म करिब ३ महिनाको अवधिमा वाङले राहुललाई ६४ पटक र राहुलले वाङलाई १३१ पटक मोबाइलमा फोन गरेका छन् । त्यसबाहेक अन्य माध्यमबाट पनि पटकपटक सम्पर्क भएको देखिएको छ ।

      सिआइबीले तयार पारेकाे सुन ल्याउने तस्करदेखि चाेरी गर्ने गिराेहसहित किन्ने समूहसम्मकाे लिङ्क चार्ट

सुन तस्करीका मुख्य व्यक्ति लुईले माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरासँग ११ पटक र अर्का तस्कर वाङले पनि महरासँग ११ पटक नै कुराकानी गरेको पाइएको छ । त्यसरी वाङले राजस्व तिरेर वा लिलामी मिलाएर छुटाइदिने भन्दै सम्पर्कमा आएका श्याम साहसँग २५३ पटक कुराकानी गरेका छन् । वाङ र भन्सार एजेन्ट खुवाप्रसाद न्यौपानेबीच ५४ पटक कुराकानी भएको छ । राहुल महराले वाङका सवारीचालक लोकेन्द्र पौडेलसँग ३६ पटक कुराकानी गरेका छन् भने चिनियाँ नागरिक अशिनसँग ३ पटक र भन्सार अधिकृत मुक्तिप्रसाद श्रेष्ठसँग एकपटक कुराकानी गरिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

महरा र तस्कर वाङबीच करिब १५ वर्ष पुरानो दोस्ती

एक अनलाइन सञ्चारमाध्यमले महरा र सुन तस्करबीच मिलेमतोको समाचार प्रकाशन गरेपछि महराले विज्ञप्ति निकालेर वाङसँग सामान्य चिनजान मात्रै रहेको बताएका थिए । तर तथ्यहरुले महरा र वाङबीच सामान्य चिनजान मात्रै नभएर गहिरो सम्बन्ध रहेको देखाउँछ ।

कृष्ण बहादुर महराको सहयोगमा चिनियाँ नागरिक वाङले सुनसरीमा मासु प्रशोधन उद्योग स्थापना गरेका थिए । तर, मासु प्रशोधनका नाममा जडिबुटीको तस्करी र अवैध बिक्री वितरण गरेपछि सरकारले उक्त प्रशोधन उद्योग बन्द गरिदिएको थियो । त्यसपछि वाङ रेडिमेट कपडाको आयात र बिक्री वितरणमा लागेका थिए । तर वाङको देखिने व्यापार कपडाको भएपनि खासमा उनले यहाँ सुनको तस्करी गर्ने गरेको र त्यसमा महराको संरक्षण खोजेको स्रोतको दावी छ ।

   तस्कर वाङसँग महरा परिवारकाे दाेस्ती

वाङ र महरा तथा उनको परिवारसँगको दोस्ती करिब १५ वर्ष पुरानो रहेको एक नेताले बताए । वाङ महराको रोल्पास्थित घरमा समेत गएर कैयनपटक बसेको पाइएको छ । पछिल्लो समय भने वाङ कृष्ण बहादुर महराका कान्छा छोरा राहुल महरा तथा उनका बहिनी ज्वाईँ योगेन्द्र बहादुर बुढासँग नजिक थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?