सुन तस्करीको छानबिन गर्न समिति संरचना र कार्यक्षेत्र टुंगो लगाउन कार्यदल बस्दै

लोकपथ
28
Shares

काठमाडौं । प्रमुख दलका नेता सहभागि भएको कार्यदलले सुन तस्करीको छानबिनका लागि गठन गर्ने उच्चस्तरीय समितिको संरचना र कार्यक्षेत्र टुंगो लगाउने भएको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार राति प्रमुख दलका शीर्ष नेताबीच उच्चस्तरीय समिति गठन गर्ने समझदारी बनेको हो ।

दलीय सहमति अनुसार उक्त समितिको संरचना र कार्यक्षेत्रको टुंगो लगाउन विपक्षी एमालेबाट सुवासचन्द्र नेम्वाङ, नेपाली कांग्रेसबाट रमेश लेखक र माओवादी केन्द्रबाट हितराज पाण्डे रहेको कार्यदल गठन गरिएको छ । उक्त कार्यदलको बैठक बिहान ११ बजे बस्दैछ ।

कार्यदलले समितिको संरचना र कार्यक्षेत्रको प्रस्ताव दिउँसो बस्ने शीर्ष नेताहरूको बैठकमा पेस गर्ने छन् । २ बजे बस्ने शीर्ष नेताहरूको बैठकमा कार्यक्षेत्र र संरचनामा समझदारी बने साउन १० गते देखि अवरुद्ध रहेको संघीय संसद सुचारु हुनेछ । प्रतिनिधिसभाको बैठक आजै दिउँसो ३ बजेका लागि बोलाइएको छ भने राष्ट्रिय सभा १ बजेका लागि डाकिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार छलेर बाहिरिएको सुनसहितको १५५ किलो ब्रेक शु साउन ३ गते सिनामंगलबाट राजश्व अनुसन्धान विभागले बरामद गरेपछि प्रमुख प्रतिपक्षी दल एमालेले उपप्रधान तथा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग गर्नुको साथै उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको छ ।

सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने मागसहित निरन्तर संसद अवरोध गरिरहेको छ । संसदको गतिरोध अन्त्य नभएपछि राष्ट्रपति रामचन्द्र पौडेलले सबै राजनीतिक दलसँग छलफल गरेका छन् । तर प्रमुख प्रतिपक्षी नेकपा एमाले भने उक्त छलफलमा सहभागि भएको छैन । आफूूहरुलाई कुनै पनि जानकारी नभएको एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?