काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णवहादुर खड्काले बाढी पहिरो लगायतका कारण जन धनको क्षति हुन नदिन सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
बुधबार रक्षा मन्त्रालयमा बसेको बैठकमा विपद् व्यवस्थापन लगायतका विषयमा भएको छलफलमा मन्त्री खड्काले अवरुद्ध भएका राजमार्ग तत्काल सञ्चालनमा ल्याउने व्यवस्था मिलाउनका साथै विपद् पूर्व सतर्कतालाइ समेत उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिए ।
छलफलमा मन्त्री खड्काले बाढी पहिरोबाट कोही नागरिक पीडित भइहाले तत्काल उद्दार तथा राहतलाइ उच्च प्राथमिकता दिन निर्देशन दिए । पीडितलाइ राहत वितरणका सम्वन्धमा कुनै कानूनी वाधा अड्चन भएमा त्यसलाइ तत्काल फुकाएर काम गर्ने व्यवस्था मिलाउन समेत उनको निर्देशन थियो ।
देशैभरका सुरक्षा निकाय र सरकारी अधिकारीहरुलाई विपद्को पूर्व आँकलन तथा व्यवस्थापनका लागि चनाखो हुन र एकीकृत रुपमा समन्वय गरी काम गर्न समेत कार्यवाहक प्रधानमन्त्री खड्काले निर्देशन दिए ।
खड्काको अध्यक्षतामा भएको बैठकमा उपप्रधानमन्त्री तथा गृह मन्त्री , मुख्य सचिव, प्रधानसेनापति, रक्षा सचिव, गृह सचिव , सुरक्षा निकायका प्रमुखहरु र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरु समेतको उपस्थिति थियो ।
बैठकमा सम्वन्धित अधिकारीहरुले देशका विभिन्न ठाँउमा गएको बाढी पहिरो , जनधनको क्षति र अवरुद्ध राजमार्ग लगायतका विषयमा जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया