चट्याङ लागेर सिन्धुलीमा दुईजना घाइते

सिन्धुली । सिन्धुलीमा चट्याङ लाग्दा दुईजना घाइते भएका छन् ।

कमलामाई नगरपालिका– ५ चिसापानी झोरा निवासी २१ वर्षीय रवि श्रेष्ठ र १० वर्षीया प्रज्ञा श्रेष्ठ घरमा बसिरहेका बेला चट्याङ लागेर घाइते भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए । 

अहिले घाइतेलाई उपचारका लागि सिन्धुली अस्पतालमा ल्याइएको छ । दुवैजनाको हात र ढाडमा चोट लागेको र उनीहरुको अवस्था सामान्य नै रहेको उनले जानकारी दिए । 

सिन्धुलीमा बिहानैदेखि, हावाहुरी, केही स्थानमा असिना पानी परिरहेको छ । मेघ गर्जनसहित जिल्लाका धेरै भू–भागमा पानी परेको भएपनि क्षतिको भने अहिलेसम्म कतैबाट जानकारी नआएको उनले जानकारी दिए । 

यता लामो समयपछि वर्षा भएपछि हिँउदेबालीका कृषक उत्साहित भएका छन् । वर्षाले हिउँदे बालीलाई केही राहत मिल्ने भएको छ । आकाशे सिँचाइको भरमा परेका किसानले यसवर्ष समयमा नै मकै रोप्न पाउनेमा खुशी भएका छन् । 

सिँचाइको सहजता नभएका पाखो खेतीमा मकै रोप्नलाई उपयुक्त समयमा पानी परेको किसानको भनाइ छ । लामो समयदेखि वर्षा नहुँदा खानेपानीका मुहानसुक्न लागेको अवस्थामा समेत अब पानीका मुहान केही दिन रसाउने भएपछि स्थानीयवासी खुशी भएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?