काठमाडौं । नेकपा एकीकृत समाजवादीले ३ मन्त्रालय नपाए सरकारमा नजाने संकेत गरेको छ ।
पहिल्यैबाट तीन मन्त्रालयको बटमलाइनमा रहेको एकीकृत समाजवादीको आज बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो ।
बैठकपछि बोल्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले आफूहरुले मन्त्री हुनेहरुको नाम तयार गरेको भन्दै प्रधानमन्त्रीको जवाफपछि मात्रै नाम सार्वजनिक गर्ने बताए ।
‘धेरैबेर छलफल ग¥यौं, ३ मन्त्रालय हामीलाई दिनुपर्छ। ३ मन्त्रालय नपाएसम्म मन्त्रीको नाम पठाउँदैनौं। प्रधानमन्त्रीको जवाफको प्रतिक्षामा बसिरहेका छौं । कुनै पनि बेलामा निर्णय गर्ने गरी हामी तयार भएका बसेका छौं।’ खतिवडाले सञ्चारकर्मीहरुसँग भने ।
पहिलो चरणमा एक जना मात्रै मन्त्री बनाउने चर्चा चले पनि ३ मन्त्रालय नदिएसम्म मन्त्रीको नाम नभन्ने अडान कायम राखेका छन् ।
‘हामी एक होइन ३ जनाको नाम दिन तयार भएर बसेका छौं। एक जनालाई मात्रै मन्त्री बनाउने भनेर चर्चा गरिएकै छैन,’ खतिवडाले भने, ‘३ मन्त्रालय नदिएसम्म हामी मन्त्रीको नाम भन्दैनौं।’
यसअघि आफूहरुले धेरै कुरामा त्याग गरेको कारण आफूहरुले रोजेको मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको पूरानै अडान रहेको छ । आजको बैठकपछि बोल्दै उनले राष्ट्रपति उपराष्ट्रपतिमा अन्य दललाई सहयोग गरेका कारण अरुले पनि आफूहरुलाई सहयोग गर्नुपर्ने अडान कायमै राखे ।
‘हामीले थुप्रै कुरा त्याग पनि गरेका छौं । राष्ट्रपति चुनावमा कांग्रेसलाई सहयोग गरियो। उपराष्ट्रपतिलगायतमा पनि सहयोग गरियो। त्यसैले ३ मन्त्रालयमा हामीलाई सहयोग गर्नुहोस् भनेका छौं।’ खतिवडाले भने ।
आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकमा दलीय भागबण्डा नमिलेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन । बैठक लगत्तै आजै सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारीपछि एकीकृत समाजवादीले आकस्मिक सचिवालय बैठक बोलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया