सांसदले विवेक प्रयोग गर्न पाउँदैनन् : सांसद लिम्बु (भिडियोसहित)

लोकपथ
77
Shares

नेकपा एमालेका सांसद एलपी सावा लिम्बुले राष्ट्रपति निर्वाचनबाट एमालेको उम्मेदवार विजयी नभए पनि वर्तमान सत्ता गठबन्धन नभत्कने दाबी गरेका छन् ।

लोकपथ टीभीको कार्यक्रम कर्माणिका लागि कुरा गर्दै सांसद लिम्बुले सरकार गठनमा भएको सहमतिलाई आधार मान्दा राष्ट्रपति एमालेकै बन्ने पनि जिकीर गरे ।

‘एमालेको सरकार नबन्नु भनेको विदेशीको स्वार्थमा नाच्ने व्यक्ति राष्ट्रपतिमा आउनु हो,’ लिम्बुले भने ।

दलीय ह्वीप उल्लंघन गर्ने अवस्था सांसदहरुको नरहेको भन्दै उनले पार्टीबाट निर्वाचित भएर आउने भएकाले स्वतन्त्र धारणा र निर्णय गर्ने अवस्था नरहेको पनि उनले बताए । उनले भने, ‘कतिपय मुद्दामा सांसदले विवेक प्रयोग गर्न पाउँदैनन् ।’
सांसदहरु जनप्रतिनिधि कि पार्टी प्रतिनिधि भन्ने प्रश्नमा उनले भने, ‘जनप्रतिनिधि त हो नै, त्यस अलवा पार्टीले दिएको टिकटबाट सांसद बनेकाले स्वाभाविक छ, पार्टी प्रतिनिधि पनि हो ।’

सांसदहरु किन विकास निर्माणको काम लिएर दौडिरहन्छन् ? के उनीहरुले आफ्नो भूमिका नबुझेका हुन् भन्ने प्रश्नमा उनले भने, ‘विगतदेखिको अभ्यास र परम्परा एवं मतदाताको अपेक्षाका कारण विकास निर्माणको काम लिएर नहिंडी सुखै छैन ।’
उनी थप्छन्, ‘हो, सांसदको मूल काम कानून निर्माण नै हुनुपर्ने हो । तर कुला पैनी, बाटाघाटा, विकास निर्माणको कामका लागि मन्त्रालयदेखि अड्डा अदालत नधाएर उपाय नै छैन ।’

सांसदहरु स्वार्थ बाझ्ने कानून निर्माण र काममा लिप्त हुने गरेको सन्दर्भमा उनले, सम्बन्धित सांसदको व्यावसायिक दक्षता प्रयोग गर्न मात्र खोजिएको हो भन्ने तर्क गरे ।

दलका नेताहरुले जे भने त्यही मान्दै भेंडा बाख्रा जस्तो किन सांसदहरु एकैतिर खनिन्छन् भन्ने प्रश्नमा उनले ‘संविधान, कानूनका कारण पनि त्यसो गर्नुपर्ने बाध्यता रहेको’ बताए ।

संसदमा जनप्रतिनिधिले उठाएका सवालहरुलाई सरकारले गम्भीरतापूर्वक कार्यान्वयन नगरेको पनि उनले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?