भोलि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दै, राष्ट्रपतिको उम्मेदवारबारे छलफल हुने

लोकपथ
14
Shares
पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली

काठमाडौं । बिहीबार (भोलि) उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचले उच्चस्तरीय राजनीतिक समितिको बैठक बोलाउने तय गरेका हुन् । भोलिको बैठकमा राष्ट्रपतिको निर्वाचन र उम्मेदवारबारे छलफल हुने बताइएको छ ।

आज एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका थिए । सो भेट्मा बैठक बोलाउने र राष्ट्रपति निर्वाचनबारे निर्णय गर्ने सहमति भएको हो ।

बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘सहज ढंगले आगामी दिनका कसरी अघि बढ्ने भन्ने विषयमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा छलफल गर्छौँ । भोलिको बैठकमा राष्ट्रपतिको उम्मेदवारबारे पनि छलफल हुनेछ ।’

उक्त उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजकमा एमाले अध्यक्ष ओली रहेका छन् ।
आगामी फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनका विषयमा वर्तमान सत्ता साझेदार दलमा मत विभाजित छ । एमालेले अबको राष्ट्रपति आफ्नो दलबाट हुने अडान राख्दै आइरहेको छ । यता प्रधानमन्त्री प्रचण्डसहित उनको दल नेकपा माओवादी केन्द्र भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित राष्ट्रिय सहमतिमा राष्ट्रपति बनाउनुपर्ने अडानमा छ ।

त्यस्तै संसदको ठूलो एवं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि माओवादीसहित अन्य राजनीतिक दलहरुसँग छलफल गरेर आफ्नो पार्टीबाट राष्ट्रपति बनाउने दौडमा छ । यद्यपी राष्ट्रपतिमा कसलाई अघि बढाउने भन्ने विषयमा भने कांग्रेसले निर्णय भने गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?