नेपालको संंविधान जारी भएपछि स्थानीय तहको निर्वाचन दोेस्रो पटक सम्पन्न भइसकेको छ । नविनतम संंरचनामा कार्य सम्पादन गर्न गाह्रो भएको पहिलोपटक निर्वाचित भएका जनप्रतिनिधिहरुको गुनासो थियो । कर्मचारी समायोजनमा भाँडभैलो, भौतिक पूर्वाधार तथा संयन्त्रको कमीले स्थानीय तहको विकासमा प्रभाव परेको थियो । तर अहिले विकासको आधार निर्माण भइसकेको स्थानीय तहमा दोस्रो पटक निर्वाचित जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको करिब सात महिना पुगिसकेको छ । यसबीचमा निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यसम्पादन कसरी गरिरहेका छन् भन्ने जान्न हामीले यो स्तम्भ शुरु गरेका छौं ।
जसअन्तर्गत लुम्बिनी प्रदेशको गुल्मी जिल्लामा रहेको मदाने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर कुवँरसँग गाउँपालिकाले गरिरहेको कामका सम्बन्धमा गरिएको कुराकानीको सम्पादित अंशः
गाउँपालिकाको नेतृत्वमा आएको सात महिना बित्यो । कस्तो रह्यो यो अवधि ?
यो अवधिमा हामी पनि कार्यसम्पादन कसरी गर्ने भन्ने सिक्दै छौ भने एकातर्फ ईमान्दारीपूर्वक मदाने गाउँपालिकालाई समृद्ध बनाउन हरपल प्रयासरत छौ । पहिलो पटक निर्वाचित भएर जनताको प्रतिनिधित्व गर्ने अवसर मतदाताहरुले दिनुभएको छ । यो समयमा सोचे र बोले जति गर्न नसके पनि आगामी पाँच वर्षमा यो गाउँपलिकालाई नमूना बनाउनेमा लागेका छौं । राष्ट्रिय गाउँपालिका संघको अधिवेशन, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले गर्दा पनि हामीले सोचे जस्तो गर्न सकिरहेका छैनौं ।
एउटा सामान्य जनता हुनु र जनप्रतिनिधि हुनुमा के भिन्नता पाउनुभयो ?
सामान्य जनता हुँदा जनताको जीवनस्तर उठाउन पालिकाबाट विभिन्न कार्यक्रम आईदिए हुन्थ्यो भन्ने जस्ता आकांक्षा रहन्थे भने अहिले आफैं त्यो स्थानमा रहँदा फरक अनुभूति हुनु सामान्य नै हो । तर, स्थानीय सरकारको आफैंले नेतृत्व गर्दा पहिले सोचेभन्दा फरक अनुभव भइरहेको छ । जिम्मेवारीको बोध, कानूनको जानकारी, उत्तरदायित्व बहन साथै आम जनताको मागलाई सम्बोधन गनुपर्ने कारणले गर्दा जिम्मेवार प्रतिनिधिको अनुभव भइरहेको छ ।
तपाईंले यो अवधिमा पालिकाबासीले अनुभूति गर्ने गरी के–के काम गर्नुभयो ?
हामी निर्वाचित भएर आएसँगै हामीले ल्याएको बजेट कार्यान्वन गर्न प्रयास गरिरहेका छौं । पालिकाको विभिन्न स्वास्थ्य चौकीमा एम्बुलेन्सको व्यवस्था गरेको छौं । मदानेलाई एक पर्यटकीय गाउँपालिकाको चिनारी बनाउन प्रयासरत छौं । यो भन्ने बित्तिकै गर्न सकिने होईन तर हामी निरन्तर प्रयास गरिरहेका छौं । पालिकाभित्रका सम्पूर्ण वडा कार्यालयबाट सार्वजनिक सेवा प्रवाह सरल, सहज तरिकाले प्राप्त भएको हामीले बुझेका छौं । बजेट कार्यान्वयनको चरणमा रहेकाले नजिता प्राप्त गर्न भने सकेका छैनौं । यसबीचमा पनि केही न केही परिर्वतन भने शुरु भएको छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनले गर्दा पनि हामीले सोचेजस्तो काम गर्न नसकेको अवस्था छ । हामीले यो समयमा देखाउनेभन्दा पनि दीर्घकालीन विकासको अनुभूति हाम्रा पालिकाबासीलाई दिनेछौं ।
पालिकाको बजेटमा कुन कुन कुरा प्राथमिकतामा परे ?
स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनलाई विशेष महत्व दिएर बजेट विनियोजन गरेका छौं । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, भौतिक पूर्वधारदेखि सडकलाई पनि उत्तिकै प्राथमिकतामा राखेका छौं । पर्यटन क्षेत्रको विकासको लागि पनि हामीले विभिन्न पर्यटकीय स्थानमा विभिन्न संरचना निर्माण गराउँदै छौं । मदाने गाउँपालिकामा पर्ने पर्यटकीय स्थल कंङके देउरालीलाई थप प्रचार प्रचारका लागि बजेट विनियोजन गरेका छौं । कृषिको लागि पनि कृषकलाई अनुदान दिएका छौं । उनीहरुलाई विभिन्न किसिमको तालिमको व्यवस्था गरेका छौं । हाम्रो बजेट विनियोजनमा पालिकाबासी सन्तुष्ट हुनुहुन्छ ।
तपाईंले निर्वाचनका बेला जनतालाई दिएको आश्वासन काममा बदल्नुभयो कि छैन ?
जनतालाई हाम्रा आश्वासन थिएनन्, ती हाम्रा प्रतिबद्धता हुन् । हामीले आफ्नो प्रतिबद्धतालाई काममा बदल्ने प्रयास गरिरहेका छौ । म तपाईको मिडियाबाट भन्न चाहन्छु, हामीले निर्वाचनको समयमा गरेका प्रतिबद्धता भन्दा पनि बढी काम गरेर हाम्रो पालिकाबासीलाई सन्तुष्टि दिलाउने छौं । साथै ती प्रतिबद्धता समयसँगै निःशर्त पूर्ण रुपमा काममा अवश्य बदलिने छन् ।
नीति निर्माण तथा योजना तर्जुमा गर्दा देखिएका कानुनी जटिलता र समस्याहरु के–के छन् ?
केही जटिलता तथा समस्या छन् । त्यो समस्या हाम्रो पालिका मात्रै नभएर सायद देशभरिको समस्या हो । जस्तैः राजश्व संकलनका कुरा । अर्काे, सामुदायिक वनहरु पनि धेरै छन् । यसको निगरानी तथा नियन्त्रणका लागि स्थानीय सरकार सञ्चालन ऐन २०७४ मा एक किसिमको प्रावधान छ भने, प्रदेश र संघीय सरकारको वन ऐनमा फरक व्यवस्था छ । पूर्ण अधिकार नभएकाले अलिकति द्विविधा र असहजता सिर्जना भएको छ । हामीले चाहेर पनि काम गर्न नसक्ने कानुनी जटिलता छ ।
यस पालिकाका मूख्य समस्या के के रहेछन् ? त्यसलाई समाधानका लागि तपाईंले चालेका कदम के के हुन् ?
समस्याभन्दा पनि केही जटिलता थिए पालिकामा । यसभन्दा अघिका जनप्रतिनिधिहरुले भौतिक संरचना लगायतका कुरामा विकासको एउटा आधार तयार पार्नुभएको थियो । जसले गर्दा हामीलाई सेवा प्रवाहमा सहजता आएको छ । अब हामी पलिकाबासीले अनुभूति हुने गरी विकास निर्माणमा अघि बढछौं । समृद्व मदाने गाउँपालिकाको आधार; कृषि, स्वास्थ्य, शिक्षा, पर्यटनसहितको पूर्वाधार भन्ने नारालाई आत्मसात् गरी आफ्नो कार्यमा हामी निरन्तर लाग्ने छौं ।
यस्तो छ मदाने गाउँपालिका सक्षिप्त जानकारी
गुल्मी जिल्लाको पश्चिमी भागमा ९४.५२ वर्ग कि. मि क्षेत्रपÞmल ओगटेको यस गाउँपालिकामा २१,८९९ जनसंख्या रहेको छ् । अग्लुङ्ग, बाझकटेरी, भनभने, मलागिरी, म्यालपोखरी, पुर्कोट दह र सिर्सेनी गा.वि.स. मिलेर बनेको यो गाउँपालिकामा कंके देउराली, मालारानी, पुर्कोट दह जस्ता धार्मिक तथा पर्यटकीय स्थल छन् । विभिन्न जातजाति र धर्म संस्कृतिको संगम रहेको यहाँ विशुद्ध सामाजिक संस्कार देख्न पाइन्छ । ‘कृषि, पर्यटन सहितको पूर्वाधार, विकासको मूल आधार’ भन्ने मुख्य उद्देश्यका रुपमा निर्वाचित जनप्रतिनिधिहरुको सामूहिक एजेण्डा रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया