काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेता चुन्ने निर्वाचनका लागि आज मनोनयन दर्ता गरिँदैछ । मनोनयनका लागि दिउँसो २ देखि ३ बजेको समय तोकिएको छ ।
मनोनयनको समयअघि नै शीर्ष नेतृत्वबीच सहमतिको प्रयास भइरहेको छ । संस्थापन पक्षले सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई नै सर्वसम्मत बनाउने प्रयास गरिरहँदा संस्थापन इतर भने देउवाविरुद्ध प्रतिष्पर्धा गर्ने उम्मेदवार तय गर्ने दौडधुपमा छ ।
संस्थापन इतरबाट नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा दुबैको दाबी रहेकाले दुई मध्ये एकका नाममा सहमति गराउने प्रयासमा नेताहरु जुटेका छन् । आज पनि नेताहरु विहानैदेखि छलफलमा जुटेका छन् । हिजो दिनभर नेताहरुले छलफल गरे पनि रातिसम्म दुबैले अडान नछाडेपछि सहमति बन्न नसकेको हो ।
निर्वाचन हुनुअघि नै महामन्त्री थापाले आफू संसदीय दलको नेता लड्ने भन्दै मतदातासँग मत मागेका थिए भने चुनाव पछि त्यसैको तयारीमा लागेका थिए । उता, चुनाव जितेर आएपछि शेखर कोइरालाले पनि दलको नेतामा प्रतिष्पर्धा गर्न इच्छा देखाएका छन् ।
कोइरालालाई उनी नजिकका सांसदले अहिले गगनलाई अघि बढाउन नहुने भन्दै प्रतिष्पर्धाका लागि अघि बढ्नुपर्ने बताइरहेका छन् । कोइराला वरिष्ठ पनि भएकाले गगनले यस पटक छाडिदिनुपर्ने यसले सबैलाई सजिलो हुने तर्क उनीहरुको छ ।
अर्कातिर थापा भने अर्का महामन्त्री विश्वप्रकाश शर्मासमेतको समर्थनमा अगाडी आएका छन् । शर्मासमेतको समर्थन जुटाएपछि कोइराला पक्ष सशंकित भएको देखिएको छ ।
प्रतिनिधिसभामा समानुपातिकसहित कांग्रेसको ८९ सीट रहेको छ । जसमा सभापति देउवाको यसै पनि बहुमत रहेको छ । टिकट वितरण गर्दा नै देउवाले आफ्नो बहुमत रहने गरी व्यवस्था मिलाइसकेका थिए । तर संस्थापनइतर समूहबाट एक जना मात्र उम्मेदवार भएमा भने राम्रो चुनौती दिन सकिने नेताहरु बताइरहेका छन् ।
१४औँ महाधिवेशनपछि संस्थापनइतर पक्ष तितरबितर हुँदा देउवालाई फाइदा पुगेको भन्दै नेताहरु अर्जुननरसिंह केसी, मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, धनराज गुरुङ, बद्री पाण्डे, जीवन परियारलगायत सहमति जुटाउने प्रयासमा लागेका हुन् ।
महाधिवेशनअघि संस्थापन इतर पक्षमा नै रहेका शशांक कोइराला र प्रकाशमान सिंहले पनि देउवालाई नै सघाउने अवस्था देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया