काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले मौद्रिक नीति निर्माणका लागि छुट्टै समिति गठन गर्न सुझाव दिएका छन् ।
बुधबार बसेको अर्थ समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी प्रतिवेदनमाथिको छलफलका क्रममा उनले यस्तो सुझाव दिएका हुन् ।
केरुङले मौद्रिक नीति निर्माण गर्ने समितिले देशको अर्थतन्त्रका विषयमा अध्ययन गरी आवश्यक निष्कर्ष र सुझाव दिन सक्ने बताए । यस्तो समिति गठन गर्दा नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने आफ्नो निष्कर्ष रहेको उनको भनाइ थियो ।
उनले भने, ‘मौद्रिक नीति र देशको अर्थतन्त्रका विषयमा समितिले केही निष्कर्ष र सुझाव दिँदा हाम्रो अर्थतन्त्र र देशलाई राम्रो हुन्छ भने मौद्रिक नीति निर्माण गर्ने समिति बनाउन सकिन्छ ।’
केरुङले राष्ट्र बैंकका गभर्नरलगायत पदाधिकारीको पदावधिका विषयमा आफूहरूको फरक धारणा भए पनि समितिले गरेका सर्वसम्मत निर्णयमा त्यसले बाधा नपार्ने स्पष्ट पारे ।
सांसद पुष्पराज कँडेल र परशुराम तामाङले पदाधिकारीको पदावधिबारे आफ्नो फरक मत अभिलेखमा कसरी राख्ने भन्ने विषय उठाएको उल्लेख गर्दै केरुङले आफू पनि त्यसमा सहमत रहेको बताए ।
तर समितिले सर्वसम्मत रूपमा गरेका निर्णयमा फरक मतले असर पार्न नहुने उनको भनाइ थियो ।
समितिको प्रतिवेदन सर्वसम्मत रूपमा तयार भइसकेपछि नयाँ विषय थप्न मिल्ने वा नमिल्नेबारे पनि केरुङले प्रश्न उठाए । दफावार छलफल र प्रतिवेदनमाथिको छलफलमा समितिका सदस्यहरू नै सहभागी हुने भएकाले आवश्यक देखिए मौद्रिक नीति निर्माणसम्बन्धी समिति थप गर्न सकिने उनले बताए ।
केरुङले राष्ट्र बैंक ऐन संशोधन विधेयकको प्रतिवेदन तयार पार्दा दफा र उपदफामा गहन छलफल गरिएको भन्दै अर्थ समितिका सभापति तथा सदस्यहरूलाई धन्यवाद दिए ।
विधेयकको अन्तिम प्रतिवेदन संसदमा पठाउने चरणमा पुगेको भन्दै उनले समितिको काम अब पूरा हुन लागेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया