काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विपद् व्यवस्थापनका लागि एआई, भू–उपग्रह, ड्रोन र रोबोटिक्सको प्रयोग बढाउने तयारी भइरहेको बताएका छन् ।
बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री पुनले विपद्को पूर्वानुमान, निगरानी तथा उद्धारलाई प्रभावकारी बनाउन नयाँ प्रविधिको प्रयोगमा मन्त्रालयले काम गरिरहेको जानकारी दिए ।
उनका अनुसार एआई र भू–उपग्रह प्रविधिमा आधारित पूर्वचेतावनी प्रणाली विकास गर्ने तथा विपद्को अवस्था वास्तविक समयमा निगरानी र पूर्वानुमान गर्न ‘सिचुएसन रुम’ निर्माण गर्ने तयारी भइरहेको छ ।
मन्त्री पुनले नेपालमै भारी क्षमताका ड्रोन उत्पादन गर्ने लक्ष्यसहित काम अघि बढाइएको पनि बताए । हाल चीन र संयुक्त अरब इमिरेट्स (यूएई) बाट ८० देखि १०० किलोग्रामसम्म सामग्री बोक्न सक्ने ड्रोन सहयोगस्वरूप प्राप्त भएको उनले जानकारी दिए ।
‘यस्ता ड्रोन खरिद गर्दा निकै महँगो पर्छ । अहिले सहयोगस्वरूप प्राप्त भएकाले प्रयोग भइरहेको छ । भविष्यमा भने यस्ता ड्रोन नेपालमै उत्पादन गर्न सकिन्छ भन्ने सम्भावनासहित काम भइरहेको छ,’ उनले भने ।
उनले हिमताल विस्फोट, पहिरो तथा भूकम्प मापनलगायतका विषयमा अनुसन्धान गरी त्यसलाई व्यावहारिक प्रयोगमा ल्याउने तयारी भइरहेको बताए । वैज्ञानिक प्रयोगशाला तथा मापन केन्द्रहरूको मर्मत, सम्भार र पुनःस्थापनालाई मन्त्रालयले प्राथमिकतामा राखेको उनको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया