दाङ–२ बाट एमाले महासचिव पोखरेल पराजित, माओवादीकी रेखा शर्मा निर्वाचित

लोकपथ
168
Shares

दाङ । दाङ क्षेत्र नं २ बाट निर्वाचित हुँदै माओवादी केन्द्रकी रेखा शर्मा तेस्रोपटक सङ्घीय संसद्मा प्रवेश गरेकी छिन्।

नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित गरी उनी सदन प्रवेश गरेकी हुन्।

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शर्मा २६ हजार आठ सय ७७ मत प्राप्त गरी विजयी भएकी हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले) का महासचिव पोखरेलले २६ हजार छ सय ८१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए।

उनीहरूबीचको मतान्तर १ सय ९६ रहेको छ । उक्त क्षेत्रमा एक लाख ३३ हजार सात सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको थियो ।

अनेरास्ववियुको विद्यालय एकाइ कमिटीबाट विसं २०४२ बाट राजनीतिक यात्रा सुरु गरेकी शर्मा विसं २०५१ मा योङ्ग कम्युनिष्ट लिगको केन्द्रीय सदस्य हुँदै २०५७ मा नेकपा (माओवादी केन्द्र) को केन्द्रीय सदस्य भएकी थिइन् । उनीसँग अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीको अध्यक्ष (२०५३–२०५८), समानुपातिक निर्वाचन प्रणालीबाट विसं २०७० मा संविधानसभा सदस्य तथा २०७४ मा प्रतिनिसभा सदस्य रही जिम्मेवारी सम्हालेको अनुभव छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?