कृष्णगोपालको करिष्मा र त्यो चर्चित भाषण : ‘कुनै माइकालाल छ ?’ हराउने ?

लोकपथ
518
Shares

दश वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपा एमाले प्रतिरक्षात्मक रहँदा काठमाडौंको क्षेत्र नम्बर ९ बाट भने कृष्णगोपाल श्रेष्ठले विजयको झण्डा फहराएका छन् । ११ हजार ९५६ मत ल्याएर निर्वाचित भएका श्रेष्ठले काठमाडौं जिल्लामा एमालेको साख मात्र जोगाएनन्, यसपटक प्रतिष्पर्धी पनि नयाँ पाए ।

१० हजार ९६१ मत ल्याएका उनका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका टेकबहादुर पोखरेल भने पराजित भए ।

सत्ता गठबन्धनबाट उठेकी माओवादी केन्द्रकी कल्पना धमलाले ६ हजार ४०२ मात्र मत प्राप्त गर्दा राप्रपाका देवेन्द्र प्रधानले ४ हजार ७८५ मत ल्याए । यसअघि २०७४ को निर्वाचनमा विजयी हुँदा भने श्रेष्ठका प्रतिष्पर्धी नेपाली कांग्रेस रहेको थियो ।

विजयको माला पहिरिँदै श्रेष्ठले अहिलेको निर्वाचन परिणामपछि राजनीतिक कोर्स नै बदलिने दाबी गर्दै सबै राजनीतिक दल र नेताहरुले पुनर्विचार गर्नुपर्ने बताए । ठूला राजनीतिक दललाई नयाँ पार्टी र स्वतन्त्र उम्मेदवारहरुले निर्वाचनमा दिएको धक्कालाई स्वाभाविक ठानेका उनले भारतबाट अतिक्रमित भूभाग फर्काउन पहल गरिने बताए ।स्थानीयवासी र स्थानीय तहका जनप्रतिनिधिहरुसँग सल्लाह गरेर थप योजना बनाउने जानकारी पनि श्रेष्ठले दिए ।

२०३५/३६ तिर नेकपा मालेको सदस्यता लिएका उनी पञ्चायतविरुद्धको लडाइँमा पटक–पटक जेल परेका थिए ।

काठमाडौँ, भक्तपुर, ललितपुर जिल्लामा पार्टी सचिव रहेर काम गरेका श्रेष्ठ नेकपा एमाले बनेयता केन्द्रीय सदस्यसहितको भूमिकामा रहेर कार्य गरेका छन् ।

पार्टीका महासचिव मदन भण्डारीले छाडेको काठमाडौँ ५ को उपनिर्वाचनमा २०४८ मा निर्वाचित उनी २०५१ मा भने तत्कालीन काठमाडौँको ७ नम्बर क्षेत्रबाट विजयी भएका थिए । २०५६ को आमनिर्वाचनमा काठमाडौँ ७ बाट पराजित उनी २०६४ सालको संविधानसभा निर्वाचनमा हालको काठमाडौँ ९ बाट पनि विजयी हुन सकेनन् । बरु २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट कांग्रेसका ध्यान गोविन्द रञ्जितसँग पराजित बन्न पुगे ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा भने वाम गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उनी काठमाडौं ९ बाट निर्वाचित भए । सरकारमा स्थानीय विकास राज्यमन्त्री, शिक्षा मन्त्रीलगायतको जिम्मेवारी सम्हालेका उनले पार्टीभित्र भने नेकपाको समयमा कोषाध्यक्ष तथा आर्थिक व्यवस्थापन विभागको उपप्रमुख बनेर काम गरेका थिए ।

सन् १९५८ मा काठमाडौँमा जन्मिएका उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?