काठमाडौंका सबै निर्वाचन क्षेत्रको मतगणना भोलि मात्रै शुरु हुने

लोकपथ
308
Shares

काठमाडौं । काठमाडौंको कुनै पनि निर्वाचन क्षेत्रमा आज मतगणना नहुने भएको छ ।

१० वटा निर्वाचन क्षेत्र रहेको काठमाडौंका धेरै वटा निर्वाचन क्षेत्रको मतपेटिका आउन बाँकी रहेको कारण भोलिमात्रै मतगणना शुरु हुन लागेको हो ।

सबै निर्वाचन क्षेत्रका प्रमुख निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुको बैठकले सो निर्णय गरेको काठमाडौं–५ का निर्वाचन अधिकृत ऋतबहादुर पुलामी मगरले लोकपथलाई जानकारी दिए ।

उनका अनुसार धेरै निर्वाचन क्षेत्रमा अन्य प्रक्रियाको काम समेत गर्नुपर्ने भएकाले भोलि मात्रै शुरु गर्न लागिएको हो । सबै मत एकैपटक गणना गर्ने भन्ने निर्वाचन आयोको निर्णय अनुसार भोलि ठाउँ व्यवस्थापन गरेर मात्रै सबै निर्वाचन क्षेत्रको एकैपटक मतगणना गर्ने तयारी गरिएको उनले बताए ।

‘हामी १० वटै निर्वाचन क्षेत्रका प्रमुखहरुको बैठक बसेर भोलिबाट मात्रै १० वटै निर्वाचन क्षेत्रको मतगणना एकैसाथ शुरु गर्ने निर्णय गरेका हौँ ।’ उनले भने, ‘निर्वाचन आयोगका अनुसार सबै मतपत्र एकैपटक गणना गर्ने तयारी भएका कारण पनि ठाउँको प्रबन्ध गर्नुपर्ने हुन्छ ।’

आज सबै कानुनी प्रक्रिया पूरा गरिसकेपछिसर्वदलीय बैठक बसेर सर्वसहमती अनुसार भोलि मात्रै मतगणनाको काम शुरु हुनेछ ।

आइतबार बिहान ७ बजेबाट साँझ ५ बजेसम्म आयोगले मतदानको समय तोकेको थियो । देशको केन्द्रीय राजधानीमै मतदानमा कम मतदाताको उपस्थिती भएको छ ।

त्यसो त देशका विभिन्न ४ जिल्लाको १५ स्थानमा मतदान नै स्थगित भएको छ । ती स्थानमा पनि दुई दिनभित्र मतगणना गरिसक्न आयोगले निर्देशन दिएको छ ।

 

निर्वाचन आयोगका अनुसार काठमाडौंका यि क्षेत्रमा हुँदैछ मतगणना :-

  • क्षेत्र नम्बर १ को मतगणना अन्तर्राष्ट्रिय सम्मेलनमा केन्द्रमा बानेश्वर ।
  • क्षेत्र नम्बर २ को मतगणना राधाकृष्ण मन्दिर थली ।
  • क्षेत्र नम्बर ३ को चामुण्डा स्कुल जोरपाटी ।
  • क्षेत्र नम्बर ४ को चपलीस्थित ज्येष्ठ नागरिक भवन ।
  • क्षेत्र नम्बर ५ को मतगणना टोखाको श्रीसमाज भवन ।
  • क्षेत्र नम्बर ६ को मतगणना धर्मस्थली ।
  • क्षेत्र नम्बर ७ को मतगणना बालाजुको जुडो हल ।
  • क्षेत्र नम्बर ८ को मतगणना स्वयम्भुको गितामाता स्कुल ।
  • क्षेत्र नम्बर ९ को मतगणना नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान रविभवन ।
  • क्षेत्र नम्बर १० मतगणना त्रिभुवन विश्वविद्यालयको स्मृती भवनमा हुने गरी तयारी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?