सरकारले चाडपर्वलाई लक्षित गरेर प्लास्टिकको माला खरिद बिक्रीमा रोक लगाएपछि सयपत्री फूलको माग बढेको छ ।
तिहार सुरु भएसँगैै सयपत्री फूलको माग ह्वात्तै बढेको फूल व्यवसायी जनक सिंहले बताए । उनले यस वर्ष सरकारले प्लास्टिकका मालामा प्रतिबन्ध लगाएपछि बाहिरी जिल्लाबाट समेत फूलको माग बढेको बताए । “विगतका वर्षहरुमा भन्दा अहिले फूलको माग धेरै छ ।” उनले भने, “सुदूरपश्चिमका पहाडी जिल्लाबाट समेत माग आउन थालेको छ हामीले मागअनुसार दिन सकिरहेका छैनौँ ।” उनले नेपालगञ्ज, दाङ, कैलालीलगायतका जिल्लाबाट समेत फूलको माग बढेको बताए ।
उनले हालसम्म रु पाँच सय प्रतिकिलोका र मालाको रु सयका दरले सयपत्री बिक्री गरिरहेको बताए । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ तिलाचौरमा दुई बिघा जमिन लिजमा लिएर उनले सयपत्री फूलको खेती गरेका छन् ।
अर्का व्यवसायी दिनेश पन्तले अहिले ग्राहकले पनि सयपत्री फूल खोजिरहेको बताए ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घले पनि सूचना जारी गर्दै व्यवसायीलाई प्लास्टिकको माला बिक्री वितरण नगर्न आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि व्यवसायीलाई प्लाष्टिकका माला बिक्री वितरण नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले उद्योग वाणिज्य सङ्घमार्फत व्यवसायीलाई बिक्री वितरण नगर्न निर्देशन दिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया