काठमाडौं । अर्थतन्त्रका प्रमुख सूचकहरुमा केही सुधार देखिएपनि अर्थतन्त्र सहज अवस्थामा भने नरहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीवार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्बन्धी चालु आर्थिक वर्षको पहिलो महिनाको तथ्याङ्क अनुसार निर्यात व्यापार बढेको देखिएपनि आयात बढ्दा व्यापार घाटा पनि बढेको छ ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल बस्तु निर्यात २८ दशमलव ७ प्रतिशतले कमी आई १४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय १५ दशमलव नौ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमश : ३६ दशमलव ५ प्रतिशत र २४ दशमलव ४ प्रतिशतले घटेको देखिएपनि अन्य मुलुकतर्फको निर्यात ५ दशमलव ७ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा पाम तेल, जिंक शिट, तयारी पोशाक, औषधी (आयुर्वेदिक), पार्टिकल बोर्डलगायतका बस्तुको निर्यात बढ्दा सोयाविन तेल, पिना, जुटका सामान, जुस, अलैंची लगायतका बस्तुको निर्यात भने घटेको प्रतिवेदनमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा कुल बस्तु आयात भने १२ दशमलव ९ प्रतिशतले कमी आई एक खर्ब ३१ अर्ब २९ करोड रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५ दशमलव ७ प्रतिशतले बढेको थियो । बस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमश : १२ दशमलव १ प्रतिशत, १० दशमलव ५ प्रतिशत र १५ दशमलव ९ प्रतिशतले कमी आएको छ ।
बस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पंज आइरन, औषधी, रासायनिक मल, कच्चा पाम तेल लगायतका बस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, एमएसविलेट, दूरसञ्चार उपकरण तथा पार्टस् , कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल लगायतका बस्तुको आयात घटेको छ । निर्यातर्फ कृष्णनगर, कैलाली, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयात मार्फत तातोपानी, जलेश्वर, सुख्खा बन्दरगाह, कैलाली, रसुवा बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
चालु आर्थिक वर्षको पहिलो महिनामा कुल बस्तु व्यापार घाटा १० दशमलव ४ प्रतिशतले कमी आई एक खर्ब १६ अर्ब ४८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७० दशमलव ६ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ११ दशमलव ३ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ दशमलव ८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १३ अर्ब ३७ करोड बराबरको बस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १८ अर्ब ८६ करोड बराबरको भएको राष्ट्र बैंकको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया