काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौं महानगरपालिका वडा नं ४ का वडाध्यक्ष दिनेश महर्जनलाई डेढ लाख धरौटीमा छाड्न आदेश दिएको छ ।
बिहीबार अध्यक्ष महर्जनविरुद्ध परेको उजुरीका आधारमा काठमाडौं जिल्लाका न्यायाधीश कृपासुर कार्कीले महर्जनलाई डेढ लाखमा छाड्न आदेश दिएका हुन् ।
३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष महर्जन भृद्धभत्ता प्रकरणमा मुछिएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
पक्राउ पुर्जी जारी भएसँगै बिहीबार अदालतमा उपस्थित भएको र त्यसमाथि सुनुवाई गर्दै अदालतले डेढ लाखमा छाड्न आदेश दिएको अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले लोकपथलाई जानकारी दिए ।
फौजदारी संहितामा उक्त प्रकृतिको मुद्दामा ७ वर्ष कैद हुने कानुनी प्रावधान रहे पनि डेढ लाख धरौटीमै छुट्नुले आफूलाई अचम्मित तुल्याएको शर्माको भनाइ रहेको छ ।
‘मुलुकी अपराध संहिता २०७४ को दफा २७६ को उपदफा ३ को खण्ड ‘ग’ बमोजिम उक्त प्रकृतिको मुद्दामा ७ वर्षसम्म कैद गर्न सक्ने प्रावधान रहेको छ । त्यो प्रावधानलाई चुनौती दिँदै कैदमा नपठाइ डेढ लाख धरौटीमा छाड्ने आदेश भएको छ । ’ शर्मा पौडेलले भने ।
महर्जनले निर्वाचित भएर आएसँगै स्थानीय व्यक्तिको वृद्धभत्ता आफैँले हस्ताक्षर गरी लिएको आरोपमा अदालतले पक्राउ पुर्जी जारी गरेको थियो ।
महर्जनले आफूले गल्ती गरेको स्वीकार गरेको र गल्ती स्वीकार गरेको अवस्थामा पनि ७ वर्षसम्म कैद हुनसक्नेमा डेढ लाखमा छाडिएको बहसकर्ता मध्येका एक अधिवक्ता विकास भट्टराईले लोकपथलाई जानकारी दिए ।
‘उहाँमाथि आरोप लागेपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उहाँ स्वंय अदालतमा उपस्थित भएर आफूले गल्ती गरेको स्वीकार गर्नुभएको हो ।’ अधिवक्ता भट्टराईले भने, ‘आरोपितले गल्ती स्वीकारेको अवस्थामा पनि ७ वर्ष कैद हुनसक्ने व्यवस्था रहेको छ । तर अदालतबाट डेढ लाख धरौटीमा छाड्न आदेश भएको छ ।’
महर्जन गत स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ४ मा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया