एमाले सांसदले गरे अर्थमन्त्री शर्माको बहिस्कार

लोकपथ
56
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले राष्ट्रिय सभा बैठकमा अर्थमन्त्री जनार्दन शर्मालाई बहिष्कार गरेको छ ।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा अर्थमन्त्री शर्माले बजेट आश्रित विधेयकहरु सभामा पारित गर्नका लागि पेस गर्ने कार्यसूची रहेको थियो । तर प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले बजेट निर्माणका क्रममा अर्थमन्त्रीले अनाधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा छिराएर करको दायरालाई हेरफेर गरेकोले अर्थमन्त्रीको राजीनामा माग गरेको हो ।

एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले अर्थमन्त्रीको राजीनामा नआउञ्जे आफूहरु अर्थमन्त्रीले प्रस्तुत गर्ने कुनै कार्यक्रममा सहभागी नहुने पार्टीको संसदीय दलको निर्णय भएको बताए । उनले अर्थमन्त्री शर्माले देशद्रोही र घातक काम गरेको उल्लेख गरे । सांसद श्रेष्ठले आफूहरुले बैठकमा अर्थमन्त्रीको कार्यसूची बहिष्कार गर्ने बताएसँगै एमाले सांसदहरु बाहिरिएका थिए ।

गणेशप्रसाद तिमिल्सिनाले आफ्नो प्रस्ताव पेश गर्न अर्थमन्त्री शर्मालाई आग्रह गरेका थिए । बैठकमा अर्थमन्त्रीले पेश गरेका‘आर्थिक विधेयक
२०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ ।

त्यस्तै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव स्वीकृत भएको घोषणा गरे ।

त्यसैगरी, अर्थमन्त्री शर्माले पेस गरेको ‘ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक २०७९ लाई मुल रुपमै सुझाव बिना पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाइयोस्’ भन्ने प्रश्ताव पनि बहुमतले पारित भएको छ । अर्थमन्त्री शर्माले पेश गरेको प्रस्तावमाथिको कारबाही सकिए लगत्तै एमाले सांसदहरु पुनः राष्ट्रिय सभा बैठकमा भाग लिन प्रवेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?