काठमाडौं । सरकारले आगामी संघ तथा प्रदेशको निर्वाचनमा ‘इलेक्ट्रिक भोटिङ’ को व्यवस्था गर्ने तयारी गरेको छ ।
निर्वाचन आयोग नेपालले निर्वाचनलाई छिटो छरितो बनाउनका लागि विद्युतीय मतदानको प्रयोग तथा व्यवस्थापनका लागि समिति बनाएको र त्यसबाट प्राप्त प्रतिवेदन, आवश्यक निर्णयलाई मन्त्रिपरिषद्मा पठाएको छ ।
त्यस्तै आगामी निर्वाचनका लागि विद्युतीय मतदानका लागि स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्था हुन नसक्ने भएमा साउन मसान्तभित्र आयोगलाई उपलब्ध हुनेगरी अन्य देशबाट यन्त्रको व्यवस्था गरिदिनका लागि गृहमन्त्रालयमा जानकारी गराएका आयोगले जनाएको छ ।
‘आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा विद्युतीय मतदान यन्त्रको प्रयोग गर्ने प्रयोजनका लागि प्राप्त प्रतिवेदनमा उल्लेख भए बमोजिमको स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र तत्काल व्यवस्थापन हुन सक्ने अवस्था हाल विद्यमान नभएमा आगामी २०७९ श्रावण मसान्तसम्ममा आयोगलाई उपलब्ध हुने गरी अन्य देशमा निर्मित विद्युतीय मतदान यन्त्रको आवश्यक प्रबन्ध गरिदिन गृह मन्त्रालय मार्फत नेपाल सरकार, मन्त्रिपरिषद्लाई लेखी पठाइएको छ ।’ आयोगले भनेको छ, ‘विद्युतीय मतदान यन्त्रको प्रयोग तथा व्यवस्थापन सम्बन्धमा अध्ययन गर्न संचार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिवको संयोजकत्वमा गठित समितिले पेश गरेको प्रतिवेदनमा अविलम्व विश्वविद्यालयका प्राध्यापकहरु, राष्ट्रसेवक सरकारी कर्मचारी एवम् स्वतन्त्र विज्ञ सम्मिलित प्राविधिक समिति गठन गरी यस समितिको सिफारिशको आधारमा विद्युतीय मतदान मेसिनको स्पेशिफिकेशन, मेसिनको गुणस्तर चेकजाँच, विश्वसनियता परीक्षण गर्ने तथा मेसिन उपर सार्वजनिक रुपमा उठान हुन सक्ने जिज्ञासाहरुको समाधान, भविष्यमा बृहत्तर रुपमा मुलुकभर यसको प्रयोग गर्दा मेसिनमा गर्नुपर्ने सुधार र विद्युतीय मतदान मेसिनको सफलतापूर्वक कार्यान्वयन भएका मुलुकहरुको अनुभवबाट सिकेर उन्नत एवम् विशिष्ट प्राविधिक क्षमताले युक्त यन्त्रको प्रयोग नेपालको निर्वाचन ब्यवस्थापनमा गर्ने जस्ता विषयहरु समावेश भएका छन् ।’
यसअघि पनि २०६४ सालको संविधानसभा निर्वाचनमा आयोगले ६ वटा निर्वाचन क्षेत्रहरूमा इलेक्ट्रिक मेसिनको प्रयोग गरेको साथै, २०७१ सालको संविधान सभा उपनिर्वाचनमा बर्दिया, बागलुङ, काठमाडौं, कैलाली लगायत पाँचवटा निर्वाचन क्षेत्रहरूमा समेत इलेक्ट्रिक भोटिङ सफलतापूर्वक सम्पन्न भइसकेका आयोगले जनाएको छ ।
आयोगले संविधान तथा संघीय कानून बमोजिम हुने राष्ट्रपति, उप राष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेश सभाका सदस्य तथा स्थानीय तहका सदस्यको निर्वाचनहरूमा विद्युतीय मतदान यन्त्र प्रयोग गर्न सक्ने रहेको कानूनी व्यवस्था अनुसार इलेक्ट्रिक भोटिङको तयारी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया