संसद अवरोधको विषयमा खनाल र नेम्वाङको सवालजवाफ

लोकपथ
70
Shares

काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र एमाले उपाध्यक्ष सुवास नेम्वाङबीच सवालजवाफ भएको छ।

सिंहदरबारमा बिहीबार ६४औँ संसद सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा दुई शीर्ष नेताबीच सवाल जवाफ भएको हो ।

कार्यक्रममा खनालले एमालेको संसद अवरोधका कारण जनताको कुरा राख्न नपाएको बताए । पछिल्लो समय निरन्तर नौ महिनासम्म अवरोध गरेको उल्लेख गर्दै उनले अवरोधका कारण पुनर्स्थापित प्रतिनिधिसभामा पनि जनताको कुरा राख्न नपाइएको र सरकारले कानुन बनाउन नपाएको गुनासो गरे ।

दुई दुई पटक संसद भंग गर्ने एमालेको प्रयासलाई सर्वोच्च अदालतले रोकेको भन्दै खनालले पुनर्स्थापित संसदमा पनि एमालेले निरन्तर अवरोध गरेको बताए । जसकारण संसद प्रभावकारी नहुँदा गैरदलीय प्रवृत्ति देखापर्न थालेको खनालको भनाइ छ ।

संसद भंग गर्ने प्रयास र संसदमा लामो अवरोध गरेको भन्दै खनालले एमालेको आलोचना गरेपछि सुवास नेम्वाङले जवाफ फर्काएका छन् । एमाले संसदीय दलको उपनेतासमेत रहेका नेम्वाङले भने, ‘संसद अवरोध अहिलेको कुरा गर्नु भयो । विगतमा पनि अवरोध भएको थियो । को-को थियौँ विगतमा अवरोध गर्नेहरू सम्झिऔँ ।’

के कारणले संसद अवरोध हुन्छ भन्ने विषयमा अध्ययन गर्न सुझाव दिँदै नेम्वाङले भने, ‘के कारणले संसद अवरोध हुन्छ भनेर पूर्वसांसद मञ्चलाई अध्ययन गर्न र निचोड दिन अनुरोध गर्न चाहन्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?