खोटाङ । खोटाङका विभिन्न स्थानीय तहमा आफ्नै पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवार परेको छ । ऐंसेलुखर्क गाउँपालिकामा गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेताको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
गठबन्धन दलको तर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका श्रीबहादुर राईलाई उम्मेदवार बनाइएको अवस्थामा कांग्रेस ऐंसेलुखर्क गाउँपालिका सभापति सन्तवीर तामाङले अध्यक्षमै बागी उम्मेदवारी दिएका हुन् । ऐंसेलुखर्कमा खगेन्द्र वनको पनि अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ ।
बराहपोखरी गाउँपालिकामा एमालेका अध्यक्षका उम्मेदवार गोमादेवी मगरविरुद्ध स्वतन्त्र उम्मेदवारी परेको छ । पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध एमाले बराहपोखरी गाउँपालिका अध्यक्ष दीर्घबहादुर मगरले अध्यक्षमा बागी उम्मेदवारी दर्ता गरेका हुन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गाउँपालिका उपाध्यक्ष चुनिएकी गोमादेवी अध्यक्ष र कांग्रेसबाट एमाले प्रवेश गरेका जीवन राई उपाध्यक्षको उम्मेदवार बनाइएपछि असन्तुष्ट दीर्घले स्वतन्त्र उम्मेदवार दिएका हुन् ।
दिप्रुङ चुईचुम्मा गाउँपालिकामा सुरेश राई र विश्वराज राईले अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । कांग्रेसबाट गाउँपालिका अध्यक्ष नइन्द्र राई उम्मेदवार बनेको अवस्थामा कांग्रेसकै कार्यकर्ता सुरेशले स्वतन्त्रमा उम्मेदवारी दर्ता गराएका हुन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गठबन्धन दलमध्ये कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरको उम्मेदवारी दिने सहमति थियो । तर, मेयरमा कांग्रेसकै तीर्थराज भट्टराई र धर्मराज पोखरेलको उम्मेदवारी दर्ता भएको छ ।
टिकटमा कांग्रेसबीच भएको विवादपछि माओवादी केन्द्रका तर्फबाट मेयरमा दुर्गाजयन्ती राईले पनि उम्मेदवारी दिएकी छन् । माओवादी केन्द्रकै नेता विकास राईले पनि स्वतन्त्र मनोनयन दर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उम्मेदवारका विषयमा कांग्रेसभित्रको किचलो देखेर जनता समाजवादीका सूर्यबहादुर राईले मेयर र नेकपा एकीकृत समाजवादीका भागवत घिमिरेले उपमेयरमा उम्मेदवार दिएका छन् । यद्यपि, उम्मेदवारको नाम फिर्ता लिने समयभित्र छलफल गरेर आधिकारिक उम्मेदवारलाई मात्र चुनावी मैदानमा उतार्ने गठबन्धन दलको तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया