श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने

लोकपथ
42
Shares

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मन्त्रालयका अनुसार मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा मन्त्री श्रेष्ठ चार दिने भ्रमणमा मलेसिया जान लागेका हुन् । श्रममन्त्री श्रेष्ठसँग यहाँस्थित मलेसियाको राजदूतावासका कार्यवाहक राजदूत मोहम्मद फ्याजलले मन्त्रालयमा भेटवार्ता गरेका हुन्। भेटवार्तामा उनीहरुबीच द्विपक्षीय हितका साथै सहकार्यका विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री श्रेष्ठले भ्रमणबाट दुई देशको मित्रता र आपसी सहयोगमा टेवा पुग्ने विश्वास व्यक्त गरे। मलेसियाका कार्यवाहक राजदूत फ्याजलले उनको मलेसिया भ्रमण र त्यसका एजेण्डाबारे छलफल गरेका थिए । मन्त्री श्रेष्ठका साथमा सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा. थानेश्वर भुसालसहितको टोली बुधवार दिउँसो मलेसिया जाने कार्यक्रम छ।

भ्रमणका क्रममा मन्त्री श्रेष्ठले मलेसियाका समकक्षी मुरुगनसँग भेटवार्ता गर्नेछन् भने सचिव अर्यालले मलेसियाको गृहमन्त्रालयका सचिव र सामाजिक सुरक्षा सङ्गठनका प्रमुखसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै भ्रमणका क्रममा नेपालमा आयोजना हुने नेपाल–मलेसिया संयुक्त समितिको बैठकका एजेण्डा तय गरिनेछ ।

वैदेशिक रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारको छनोट प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्ने र श्रम सम्झौताको प्रावधान प्रभावकारी कार्यान्वयनका विषयमा नेपाली प्रतिनिधिमण्डलले छलफल गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा मलेसियामा रहेका नेपाली समुदायसँग समेत छलफल गर्ने कार्यक्रम छ । मलेसिया नेपाली श्रमिकहरुको प्रमुख गन्तव्य मुलकका रुपमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?