पछिल्लो २४ घण्टामा २१ जिल्लाका ३० स्थानमा आगलागी

लोकपथ
49
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा देशको ३० स्थानमा आगलागीका घटना भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान १० बजेदेखि मंगलबार बिहान १० बजेसम्मको अवधिमा उक्त आगलागीका घटना भएका हुन् ।

मोरङ, पर्वत, झापा, जाजरकोट, ललितपुर, ताप्लेजुङ, कपिलवस्तु, दोलखा, खोटाङ, सप्तरी, पर्सा, बारा, काठमाडौं, सुनसरी, बर्दिया, दाङ, तेह्रथुम, ओखलढुंगा, डोटी, धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा आगलागी भएको प्राधिकरणले जनाएको छ ।

आगलागीका घटनामा परी बितेको चौबिस घण्टामा ७ जना घाइते भएका छन् ।

वैशाख १ गतेयता देशभर ९८ वटा आगलागीका घटना रेकर्ड भएका छन् । ती घटनामा परी १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । आगलागीका घटनाले यस वर्ष ६ करोड २६ लाख ६६ हजार ६०० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको प्राधिकरणले जनाएको छ ।

गत वर्ष अर्थात् २०७८ सालमा देशभर २ हजार ४६६ वटा आगलागीका घटना रेकर्ड भएका थिए । ती घटनामा परी ९५ जनाले ज्यान गुमाएका थिए भने ३८१ जना घाइते भएका थिए । आगलागीका कारण गत वर्ष राज्यले २ अर्ब २७ करोड ३४ लाख ३१ हजार ३२४ रुपैयाँबराबरको आर्थिक क्षति व्यहोरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?